नेपाललाई दोस्रो घर मान्ने जापानी गायिका (भिडियोसहित)
काठमाडौं । सूचना प्रविधिले विश्वलाई एउटा गाउँमा अनुवाद गरेको छ । अनि खानेकुराको समान रोजाइले मानिस एउटै भान्सामा अनुबन्धित हुँदै गएको छ ।
अझ एउटा विदेशी नेपालको कला, संस्कृति, परम्परा, र भेषभूषामा आकर्षित भएर यहीँको बासिन्दामा रुपान्तरण हुन्छ भने त्यो भन्दा ठूलो उपलब्धी के हुनसक्छ ? ८० को हाराहारी पुगेका पाल्पा बासिन्दा ओके बाजे हुन या ९० लागेका बेलायती नागरिक जर्ज जो नेपालमा रमाएका छन् । उनीहरु कोही शिक्षासेवी त कोही समाजसेवी भएर नेपाली समाजमा सहयात्रा गरिरहेका छन् । कतिबेला कसलाई के ले छुन्छ, भन्नै सकिदैन् । फगतः पर्यटक भएर आएका यिनीहरु कालान्तरमा नेपालका बासिन्दा भए । नेपालमा स्टेबरी खेती आरम्भ गर्ने जश जापानी नागरिकलाई नै छ ।
पछिल्लो पुस्ताकी आवई सानो पनि यस्तै पात्र हुन् । जापानकी चर्चित गायिका सानो जापानमा नेपाली गीत प्रवद्र्धन गर्छिन् । अलिकति पैसा भयो कि चितवनको चेपाङ वस्तीमा सहयोगका लागि दौडिन्छिन् । वर्षेनी नेपाल आउँछिन् । नेपाल उनलाई दोस्रो घर लाग्छ । नेपालप्रति यति विधि माया हुनमा अर्को प्रमुख कारण के हो भने उनकी आमा युको सानो दशकौंदेखि नेपालमा व्यापार गरेर बस्छिन् ।
गायिका आवई सानो सम्झिन्छिन– जतिबेला जापान सुनामीको चक्रले अस्तव्यस्त भएको थियो, त्यतिबेला नेपाली स्वयंसेवकले पीडितहरुलाई ठूलो सहयोग गरेका थिए । २०७२ सालको विनासकारी भूकम्पले नेपाली समाज तहसनहस भएका बेला आवई त्यो ऋण तिर्न आइन । उनले बसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायरमा कन्सर्ट गरिन् । त्यस्तो पीडाका बेला पनि हाँस्न, रम्न सक्ने नेपालीको अद्भूत मनोविज्ञानले उनलाई चकित बनायो । उनी भन्छिन– ‘त्यो बेला संगीत थेरापीको माध्यमबाट पीडामा मल्हम लगाउने प्रयास गरें । जसले मलाई सफलताको नजिक पुर्यायो ।’
आवईमा थुप्रै थुप्रै नेपाली गीत गाउने भोक छ । अब त तीजदेखि लोकगीतसम्म उनले आफ्नो गायकीको फाँट विस्तार गरिसकेकी छन् । भविष्यमा सोलो अल्बम निकाल्ने तयारी पनि संगसंगै छ । जापानमा हुने प्रत्येक नेपाली कार्यक्रममा उनलाई नेपाली गीत गाउन निम्त्याइन्छ । उनलाई पनि यो अवसर छुटाउन मन लाग्दैन् ।