नसुध्रिने भए युनुश, करोडौं बराबरका नक्कली भारुसहित पक्राउ
काठमाडौं । कतार हुँदै नेपाल छिराइएको भारतीय २ हजारका नोट समेत रहेको करोडौं रकमसहित त्रिभुवन विमानस्थलबाट युनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
ठूला दुई सुटकेसमा यसरी भारतीय नोट ल्याइएको त्रिभुवन विमानस्थल प्रहरी प्रमूख एसएसपी सन्दिप भण्डारीले पुष्टि गरे । कतारबाट आएका भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको बताउँदै भण्डारीले भने,‘हामी नोट गन्दैछौं, दुई सुटकेस छ । अहिलेसम्म २ हजारका नोट फेला परेका छन्, अर्को सुटकेस खोल्न बाँकी छ ।’
विमानस्थल प्रहरीसहित प्रहरी प्रधान कार्यालयको टोली पनि अनुसन्धानमा संयुक्त रूपमा खटिएको छ । यी नोटका कारोबारीबारे अझै अनुसन्धान जारी रहेको प्रहरीले जनायो । ‘अप्रेसन जारी छ यस विषयमा विस्तृत विवरण हामीले सबै अनुसन्धान गरीसकेपछि आउनेछ’, भण्डारीले भने ।
विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत अन्सारीसहित आएका ३ र उनीहरूलाई लिन गएका नसरुद्दिन अन्सारीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ गरिएका मध्ये अन्सारी यसअघि पनि पटक–पटक भारतीय नक्कली नोटको कारोबारमा मुछिएका थिए । पछिल्लो पटक पक्राउ गरि केन्द्रीय कारागारमा उनलाई राखिएको थियो । सो कारागारमा भारतीय नागरिक मनमित सिंहले उनलाई लक्षित गरी गोली प्रहार गरेका थिए ।
प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेसनल टेलिभिजनका सञ्चालक थिए । उनको दाउद इब्राहिमको सञ्जालसँग सम्बन्ध रहेको भनी भारतीय प्रशासनले पटक–पटक दाबी गर्दै आइरहेको छ ।