खेल

त्रिभुवन आर्मी क्लवलाई दोस्रो जित

त्रिभुवन आर्मी क्लवलाई दोस्रो जित

विभागीय टीम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ  । 

आइतबार भएको खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आर्मीले दिएको २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले २६ ओभर ५ बलमा अलआउट हुँदै ९१ रन मात्र जोड्न सक्यो ।

प्रदेश १ का लागि राजन मगरले सर्वाधिक २६ रन जोड्दा मुकुन्द यादवले १८ रन बनाए । यस्तै रबी रोयले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका लागि सुशन भारीले ३ विकेट लिए । यस्तै करण केसीको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा अलआउट हुँदै २०४ रन बनाएको थियो ।

आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरि बहादुर चौहानले ४१ तथा कप्तान बिनोद भण्डारीले ३० रन बनाए ।

पहिलो खेलमा आर्मीले  प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

जितसंगै आर्मीले २ खेलबाट ४ अंक जोडेको छ ।  
 

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

विशेष