गणतन्त्र कांग्रेसको गहना, संघीयता र धर्मनिरपेक्षता नछाड्ने
नेपाली कांग्रेसभित्रै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबाट पछि नहट्न नेतृत्वमाथि दवाव पर्न थालेको छ । मुलुकमा गणतन्त्र दिवस मनाइरहेका बेला कांग्रेसभित्रै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेका बेला युवा नेताहरुले यी मुद्दाबाट पछि नहट्न नेतृत्वलाई सचेत गराइरहेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व सभापति नैनसिंह महरले संविधानमा समस्या खोजेर नभई यसको पूर्ण कार्यान्वयनमा लाग्नुको विकल्प नभएको बताए । उनले कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले यसको उच्चतम प्रयोग र कार्यान्वयनमा पनि कांग्रेस बफादार भएर लाग्नुपर्ने बताए ।
लोकतान्त्रिक पार्टीमा विचारको विविधता भएपनि अहिल्यै समस्या कोट्याएर संविधानको नै विकल्प खोज्नुपर्ने समय नआएको उनले बताए ।
">
महरले भने, ‘भर्खर बच्चा जन्मिएर हुर्किरहेको छ । यसको लालनपोषण गरी हुर्काउने कि घाँटी निमोठ्ने ? अहिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट पछि हट्ने प्रश्नै उठ्दैन । होइन भने मुलुक फेरि अर्को द्वन्द्वमा फस्ने सम्भावना हुन्छ । ’
‘हो, संघीयतामा थुप्रै समस्या छन् । प्रदेश सरकार राम्रोसंग चल्न सकेका छैनन् । आर्थिक व्ययभार थाम्नसक्ने स्थिति छैन । हिन्दू राष्ट्र चाहियो भन्नेको संख्या पनि बढी नै होला । गणतान्त्रिक व्यवस्थामा नेताहरु नै भ्रष्ट हुन थाले । यी सबैका बावजुत कमी कमजोरीलाई सुधार्ने प्रयास गर्ने हो, व्यवस्था उल्ट्याउने होइन । यो काममा कांग्रेस लाग्नुपर्छ । ’ महरले भने ।
सरकारप्रति नरम
नेता महरले प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण अधिनायकवादको शैलीमा अघि बढिरहेको भएपनि कांग्रेसले धैर्य अपनाइरहेको बताए । हिंसात्मक आन्दोलनमा कांग्रेसलाई विश्वास छैन । हामी वर्तमान ओली नेतृत्वको सरकारलाई लोकतान्त्रिक मूल्य मान्यतामा आओस भन्ने चाहन्छौं । यसका लागि संसद् र सडकबाट सचेत गराउने काम गर्दै आएका छौं । अहिलेको जागरण अभियान यसैको एउटा कडी हो ।
सरकार एकलौटी ढंगले अघि बढिरहेको छ । संविधान र संघीयताको भावना विपरीत प्रधानमन्त्री बोलिरहेका छन् । हुँदाहुँदा गृहमन्त्रीसमेत विप्लवका कार्यकर्तालाई नागरिक मान्न तयार छैनन् । यसले हिंसालाई मात्र प्रोत्साहन गर्छ । हामी संयम छौं । विप्लव र सरकार दुवैलाई वार्ताबाट समस्या टुंग्याउन सुझाव दिइरहेका छौं । यति राम्रो प्रतिपक्षी पाउँदा पनि सरकार केही गर्न सक्दैन, अचम्म यही छ ।
नेविसंघ लथालिंग
नेविसंघको नेतृत्वबाट मलाई राजीनामा दिलाउन कांग्रेसका विभिन्न गुटउपगुट सक्रिय भए । आफनै संगठन भित्रका आफनै विश्वासपात्रहरु खुलेर लागे । संगठन राम्रो हुन्छ भनेर के भो र भनेर मैले राजीनामा गरे । तर, ख्वै समाधान भयो त ? संगठनको स्थिति झन खराब छ ।
नेताहरुको गुट र भागवण्डाको तँछाडमछाडले नेविसंघ तदर्थ समिति बन्न सकेको छैन । यो दुःखद कुरा हो । म ठोकेर भन्छु, ‘अहिले सबैलाई आफू तदर्थ समितिको सभापति बन्छु भन्ने आशा छ । कतिपयलाई कार्यसमिति सदस्यको आशा छ । तर, आशा गरेका सबै पर्ने भन्ने हुँदैन । यसकारण तदर्थ समिति बनेको भोलिपल्टै असन्तुष्टि पोखिन्छ । त्यो समितिलाई पनि अवरोध गर्छन्, समितिले काम गर्न सक्ने स्थिति हुँदैन । ’
कांग्रेसका शीर्ष नेताहरु अझै पनि आफू र आफनो समूह बलियो बनाउने ध्याउन्नमा छन् । यसले कांग्रेसको जागरण अभियान मात्र प्रभावित भएको छैन, आउँदो चुनावमा पुनः हार बेहोर्नुपर्ने स्थिति हुनसक्छ ।
युवा कांग्रेसको प्रस्ताव
नेता महरले आफूले कांग्रेसमा युवा कांग्रेस गठनको प्रस्ताव अघि बढाएको जानकारी दिए । महासमिति बैठकमा यो प्रस्ताव अघि बढाएको र अब आउँदो पार्टी महाधिवेशनमा आफूले विधिवतः रुपमा यो प्रस्ताव दर्ता गराउने उनको तयारी छ ।
उनी भन्छन्, ‘कांग्रेसमा एउटा प्लेटफर्मको आवश्यकता छ । म नेविसंघको अध्यक्षबाट निस्किए । अब काँ जाने ? के गर्ने ? म जस्ता हजारौं नेताहरु अलपत्र छन् । उनीहरुलाई समेट्ने मञ्च भनेको युवा कांग्रेस हुनसक्छ ।’
युवा कांग्रेसमा बैचारिक तथा सांगठनिक गतिविधिबारे काम गर्नु उचित हुन्छ । नीति, रणनीति, आ–आफनो क्षमता प्रदर्शन लगायतका काम यहीं गर्नुपर्छ । यसबाट माझिएका, खारिएका नेताहरु त्यसपछि पार्टीको माथिल्लो तहमा जानु उपयुक्त हुन्छ ।