मुख्य समाचार

प्रधानमन्त्री ओली बिहीबार भारत जाने, शुक्रबार फर्किने 

प्रधानमन्त्री ओली बिहीबार भारत जाने, शुक्रबार फर्किने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । 

 

मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेका हुन् । ओलीसँगै परराष्ट्र सल्लाहकार भट्टराईका साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली जानेछन् । 

 

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली ‘आकस्मिक’ रुपमा दिल्ली जान लागेका हुन् ।  

 

दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।  ओली सपथ समारोहमा सहभागी भएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

 

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

 

यी सबै देशबाट सपथ समारोहमा प्रतिनिधित्व हुन लागेको हो ।  त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ । यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटक भने भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन् । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।
 

विशेष