मुख्य समाचार

भारतको सहयोगमा उदयपुरमा शिक्षा क्याम्पस 

भारतको सहयोगमा उदयपुरमा शिक्षा क्याम्पस 


भारतको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा शिक्षा क्याम्पस स्थापना भएको छ । श्री नारद आदर्श शिक्षा क्याम्पसको स्तरोन्नती गर्दै क्याम्पसस्तरसम्मको पढाइका लागि भारतले सहयोग गरेको हो । 

 


सन १९७१ मा माध्यामिक शिक्षासम्म पढाइ हुने गरी स्थापना भएको सो विद्यालय २००३ मा क्याम्पसमा अपग्रेड गरिएको हो । अहिले सो क्याम्पसमा चार वर्षे  बि.एड सम्म पढाइ हुने व्यवस्था गरिएको छ । 


क्याम्पसको नयाँ पूर्वाधार निर्माणका लागि भारतले ३ करोड २० लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ ।  यसबाट १२ वटा कक्षा कोठा, पुस्तकालय, बैठक कक्ष, पुरुष र महिलाका लागि अलग–अलग शौचालय तथा केही फर्निचर बनाइएको छ । क्याम्पसमा हाल १३५ विद्यार्थी अध्ययनरत रहेको र ती मध्ये ७० प्रतिशत छात्रा छन् । 

सो क्याम्पसको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । समारोहमा नेपालस्थित भारतीय दुतावासका मिसन उप प्रमुख डा. अजयकुमार पनि उपस्थित हुनुहुन्थ्यो । 


क्याम्पसको नव निर्मित पूर्वाधारले पढाईका लागि उपयुक्त वातावरण बनाउने अपेक्षा गरिएको छ । यसबाट उदयपुर, भोजपुर, खोटाङ, सुनसरी र सप्तरीका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन् । 

विशेष