विचार

छोरीलाई मेयर र बुहारीलाई मन्त्री बनाउनेजस्तो परिवारवादबाट बिल्कुल अलग छन् मोदी

छोरीलाई मेयर र बुहारीलाई मन्त्री बनाउनेजस्तो परिवारवादबाट बिल्कुल अलग छन् मोदी
  • नारायण पौडेल

नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पहिलो गैरकाँग्रेस हुन् ।

आमा ज्युँदै हुँदा प्रधानमन्त्री बन्ने तथा सबैभन्दा धेरै मतान्तरले लोकसभामा विजयी हुने प्रधानमन्त्री पनि मोदी हुन् । सन् १९८४ पछि एकै दलले बहुमत ल्याएर प्रधानमन्त्री बन्न सफल इतिहास रचेका थिए मोदीले सन् २०१४ मा । मोदीको नाममा अर्को इतिहास थपिएको छ- फेरि पनि बहुमत !

भारतीय राजनीतिलाई नजिकबाट हेर्नेहरुको अनुमान थियो – मोदी फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् । तर, थप शक्तिशाली बन्नेछन् भन्ने सायदै कसैले अनुमान गरेको थियो । उनको शक्ति क्षयका लागि मुख्य तीन कारण मानिएको थियो – मोदीले सन् २०१४ मा गरेका अधिकाँश वाचा पूरा नहुनु, आम जनताका लागि अच्छे दिन नआउनु ।

लोकसभा निर्वाचनभन्दा केही पहिले भएको विधानसभा निर्वाचनमा प्रतिपक्षी कांग्रेस गठबन्धन बिजेपीभन्दा बलियो देखिनु । मोदीलाई परास्त गर्न कांग्रेसको नेतृत्वमा विपक्षीहरुको कसली चुनावी एकता, अमेरिकालगायतका विश्वशक्ति मोदीप्रति भित्रिरुपमा असन्तुष्ट ।

यी सबै प्रतिकुलताका बाबजुत पनि मोदीका लागि राजनीति थप अनुकुल सावित भइदियो । खहरे ठानिएको मोदीको उदय अकाट्य दरिएको छ । योसँगै मोदी शक्तिका बारे विश्वजगतमा नयाँ बहश शुरु भएको छ । आखिर मोदी शक्तिको राज के हो ?

निसन्देह मोदी शक्तिको मुख्य राज मोदी र भाजपा हुन् । तर, अर्को एउटा पाटो लुकेको छ जसले मोदीलाई थप शक्तिशाली बनाएको छ । त्यो हो – प्रधानमन्त्री मोदीको शक्तिप्रति कुनै आशक्ति नदेखाउने उनको परिवार ।

नरेन्द्र मोदी विशाल परिवारका सदस्य हुन् । गुजरातको उत्तरी भागमा रहेको बडनगरमा मोदी परिवारका दर्जनौँ घर छन् । त्यसैले मोदीको जन्मथलो मोदी चर्चित बन्नुभन्दा पहिले नै मोदी टोलले चिनिन्थ्यो । मूलचन्द मोदीका ६ भाइ छोरामध्ये जेठा दामोदरदास मोदीका साँइला छोरा हुन् नरेन्द्र मोदी ।

मूलचन्दका ६ भाइ छोराका सन्तान जोड्दा मोदीका कम्तिमा २४ जना दाजुभाइ दिदीबहिनी छन् । ती २४ जनाका छोरा छोरी नातिनातिना जोड्दा मोदी परिवारको संख्या सयौँ पुग्छ । सयौँ परिवारका सदस्य भएपनि दिल्लीको शक्ति राजनीतिमा देखिने नरेन्द्र एक्ला मोदी हुन् ।

मोदीमाथि सन् २०१९ को निर्वाचनमा प्रतिपक्षीबाट लगाइएको जोडतोडको आरोप थियो – भ्रष्टाचारको । राफेल नामक सैन्य विमान खरिदमा अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप मोदीमाथि लगाइएको थियो । मोदीले आफूलाई देशको चौकीदारका रुपमा चिनाइरहेका थिए । प्रतिपक्षी दलका नेता राहुल गान्धीले चौकीदार शब्दमाथि नै आक्रामक नारा बनाइदिए –चौकीदार चोर हे ।

यो नारालाई खण्डित गर्न मोदीलाई परिवारिक साथ मिल्यो । मोदीले खुलेर भन्न पाए–मेरो अघि न कोही छ, न पछि कोही छ । म के का लागि भ्रष्टाचार गरूँ ? उनले आफ्नो परिवारका बारे एक कदम अघि बढ्दै भने– मेरो परिवारका सदस्यप्रति नमन गर्दछु, जसले सामान्य जीबन व्यथित गरेर मेरो शीर उँचो बनाएका छन् । दाजुभाइ दिदीबहिनी, भतिजाभतिजीले मबाट प्राप्त गर्ने आशा राखेको भए सायद म निष्कलंक रहन सक्दैनथे ।

मोदीले प्रधानमन्त्रीको रुपमा पहिलो पटक सपथ ग्रहण गर्दा दक्षिण एशियाका कार्यकारी प्रमुखलाई निमन्त्रणा गरेका थिए । देशका सबै क्षेत्रका प्रतिष्ठित र अनुकरणीय काम गरेका जनहरुलाई डाकेका थिए । तर, उनले आफ्नै परिवारका सदस्यलाई सपथ ग्रहण समारोहमा बञ्चित गरे । उनले प्रष्ट सन्देश दिए– शक्तिबाट परिवारका सदस्यलाई टाढा राखिने छ ।

पहिलोपटक गुजरातको मुख्यमन्त्री हुँदा सरकारी निवासमा एकपटक पारिवारिक मिलन र फोटो सेसन गरेका मोदीले देशको प्रधानमन्त्री भएपछि त्यो पनि गरेनन् । प्रधानमन्त्रीका रुपमा मोदीले गरेको पारिवारिक वेवास्तालाई लिएर उनको परिवारले रत्तिभर गुनासो गरेन । बरु गर्व गर्न लायक सन्देश प्रवाह गरिरह्यो । उदाहरण शुरु गरौँ मोदीकी आमाबाट ।

सन् २०१४ को चुनावी नतिजा सार्वजनिक भएसँगै आमाको आर्शिवाद लिन मोदी गुजरात पुगे । कान्छो छोरा पंकजको तीन कोठे घरमा बस्ने हिराबेनले प्रधानमन्त्री छोरासँग केही अपेक्षा गरिनन् । बरु, उसैलाई नपुगेको होला भन्ठानेर केही पैसा हातमा राखिदिइन् । सो दृश्यले मातृप्रेमको उदाहरणमात्र प्रस्तुत गरेन, मोदी परिवारप्रति सम्मान जगायो ।

मोदीले आमालाई प्रधानमन्त्री निवासमै राख्न सक्थे । मोदी र हिराबेन दुबैको रुची त्यसमा देखिएन । पहिलो कार्यकालमा मोदीले एक पटक आमालाई दिल्ली डाकेछन् । हप्ता दिन जति प्रधानमन्त्री निवासमा बसेकी हिराबेनले मोदीसँग भनिछन्–मलाई मेरै गाउँ रमाइलो, कम्तिमा साथीभाइसँग मन बहलाउन पाउँछु ।

बयोवृद्ध आमाप्रति मोदीको मोह नभएको होइन । हरेक सफलता र विशेष दिनमा आमाको आर्शीवाद लिन मोदी गुजरात पुगेकै हुन्छन् । आमाले छिमेकीको घरमा काम गरेर आफूहरुको रेखदेख गरेको इतिहासभन्दा उनी प्रत्येक पटक रोएकै हुन्छन् ।

नरेन्द्र मोदीकी श्रीमती हुन् जशोधावेन । किशोरवयमा बैबाहिक जीबनमा बाँधिएका थिए नरेन्द्र र जशोधा । भारतीय संचारमाध्यमसँगको कुराकानीमा जशोधाले बताएअनुसार विवाह भएको ३ बर्षमा उनीहरु मुस्किलले ३ महिना सँगै बसेका थिए । विवाहपछि पनि जशोधा प्राय माइतीमै बसिन्, मोदीले घर छोडेर हिडेपछि उनीहरुको भेटघाट नै भएन ।

मोदी प्रधानमन्त्री भएपछि पेशाले शिक्षक रहेकी जशोधाका लागि गुजरात सरकारले भीभीआईपी सुरक्षा टोली खटायो । जशोधाले आफू कसरी भीभीआईपी भएको भन्ने जानकारी दिनका लागि सरकारसँग मागमात्रै गरिनन्, आफुलाई कुनै असुरक्षा नरहेको भन्दै सुरक्षाकर्मी लिन मानिनन् ।

मोदीकै नाममा सिँगो जीबन समर्पित गरेकी जशोधाले पतिले दिएको बिछोडप्रति गुनासो पनि गर्दिनन्–मेरो भाग्यमा यस्तै रहेछ, मलाई साथ नदिएपनि देश र देशबासीलाई साथ दिने उसको लक्ष्य पूरा होस् । बिछोड उपहार दिने पतिप्रति जशोधाको बेजोड प्रथाना !

नरेन्द्र मोदीका जेठा दाजु हुन्–सोमभाइ । झण्डै असी पुग्न लागेका सोमभाइ सामाजिक सेवामा सक्रिय छन् । वृद्ध आश्रम चलाउछन् । भाइ प्रधानमन्त्री भएपछि उनीप्रतिको आकर्षण झन् बढेको छ । तर, सोमभाइ आफूलाई प्रधानमन्त्रीको दाइको रुपमा चिनाउन चाहन्नन् ।

केही पहिले सोमभाइ गुजरातकै गाजीपुरमा रहेको सिद्धपीठ हथियाराम मठस्थित बुढियाँ मन्दिर गएका थिए । श्रीमतीसहित पूजाआजाका लागि पुगेका सोमभाइलाई त्यहाँ धेरैले चिन्दैनथे । सयौँ भक्तजनका सामू मठाधीशले सोमभाइको परिचय गराइदिए–प्रधानमन्त्रीका जेठा दाजु । तर श्रद्धय मठाधीशले गराएको परिचयलाई खण्डित गरेर सोमभाइले सबैलाई आश्चर्यचकित पारिदिए ।

उनले तत्काल जवाफ फर्काए– म नरेन्द्र मोदीको जेठो दाजु हुँ, तर प्रधानमन्त्री नरेन्द्रका लागि म एक भारतीय दाजुभाइमात्र हुँ । मेरो र नरेन्द्रका बीचमा एउटा यस्तो पर्दा छ जुन पर्दाका कारण प्रधानमन्त्रीका रुपमा उसले नत मलाई दाइका रुपमा हेर्छ नत म उसलाई भाइका रुपमा ।

अर्का दाजु हुन् अमृतभाइ मोदी । छोरा संजयसँगै मिलेर अमृतले पाटपूर्जाको व्यवसाय गर्छन् । संजयको लगाव प्रविधिमा छ । तर, संजय प्रविधिमैत्री काकाको आडमा कुनै तरक्की गर्ने आशामा छैनन् । उनी भन्छन्–मलाई ठीकै छ, काकाले आम भारतीयका लागि गरुन् ।

प्रल्हाद प्रधानमन्त्री मोदीका भाइ हुन् । गल्ला व्यवसायी प्रल्हाद गुजरात गल्ला व्यवसायी संघका अध्यक्ष पनि हुन् । साना व्यवसायीका लागि मोदी सरकार मैत्रीपूर्ण नरहेको भन्दै प्रल्हाद सडकमा धर्नासमेत बसे । तर, मोदीको देश प्रेमबारे प्रल्हाद प्रवक्तासरह प्रस्तुत हुन्छन् । उनी गुजरातभर डुलिरहन्छन् ।

साथीभाइ र संचारकर्मीले उनलाई सुरक्षा चुनौतिबारे प्रश्न गर्ने गर्छन । प्रल्हाद जवाफ फर्काउछन्– मेरो दाइले गल्ति नगरेसम्म हामीलाई कुनै असुरक्षा छैन । दाइ देश र जनताका लागि समर्पित रहुन्जेल हामीलाई सुरक्षाको के चिन्ता ? उनको प्रतिप्रश्न मोदीका लागि कम्ता भातृ–उपहार होइन ।

मोदीकी एकमात्र बहिनी हुन् – वसन्तबेन । दिदीबहिनीको जातै आशे भनिन्छ । माइतीको बुझाइ यस्तै हुन्छ । तर वसन्तबेन देशकै सर्बशक्तिमान माइतीसँग केही अपेक्षा राख्दिनन् । सामान्य जीबनशैलीकै बसन्तबेनले नरेन्द्र मोदीसँग कहिल्यै सहयोगको याचना नगरेको बताउँछिन् ।

परिवकारका कान्छा भाइ पंकज प्रधानमन्त्री नरेन्द्र मोदीसँग सबैभन्दा बढी भेटघाट गर्न पाउने भाग्यमानी सदस्य हुन् । कारण उनी आमासँग बस्छन्, नरेन्द्र मोदी आमालाई भेट्न आउदा पंकजले पनि भेट्न पाउँछन् । यसकारण मोदीसँगै टेलिभिजनका पर्दामा यदाकदा देखिने पात्र हुन् पंकज । त्यसैले उनलाई धेरैले चिन्छन् पनि ।

एउटा कार्यक्रममा पंकजलाई निम्ता गरियो । उनलाई प्रमुख अतिथिका रुपमा आसन ग्रहण गर्न र बोल्न लगाइयो । प्रधानमन्त्रीको भाइ भएकै कारण प्रमुख अतिथि बनाइनु आफ्नो र दाजुको नीति विपरित रहेको भन्दै पंकजले दुःख व्यक्त गरे । उनले प्रमुख अतिथिको आशन फिर्ता गरेको जनाए । र, आफुलाई प्रधानमन्त्रीको भाइको रुपमा नभइ आफुले गरेका कामको आधारमा मात्र मूल्याँकन गर्न अनुरोध गरे ।

मोदीको परिवार शक्तिबाट टाढा छ । शक्तिकेन्द्र हैदरावाद हाउसबाट हजार किलोमिटर पर रहका मोदीहरु शक्तिबाट टाढा रहेर नरेन्द्र मोदीलाई थप शक्तिशाली बनाइरहेका छन् । शक्तिप्रति आशक्ती नदेखाएर नरेन्द्र मोदीलाई थप शक्तिशाली बनाउने मोदी परिवारको शक्ति कति ? लोकसभा निर्वाचनले उत्तर दिइसकेको छ ।

मोदी राजनीतिसँग असहमत हुनलाई हजार तर्क पेश गर्न सकिन्छ । तर, मोदी परिवारको सादगीका विपक्षमा तथ्य पेश गर्न सायदै सहज छ । मोदी परिवार राजनीति गर्नेहरुका लागि आफैँमा पाठशाला बनेर खडा भएको छ । महात्मा गान्धी र जहारलाल नेवरु परिवारको विरासत रहेको गान्धी परिवारलाई बिना बिरासतका मोदीले त्यसै ढलाएका होइनन् ।

मोदीको परिवार मोदीका लागि टाढै बसेर ढाल बनिदियो । भारतमा चरम दक्षिणपन्थी राजनीतिका नायक मोदी परिवारबादबाट मुक्त भएपनि नेपालमा क्रान्तिनायकहरु परिवारबादकै कारण बदनाम भएका छन् । ग्रीसेली दार्शनिक प्लोटोले २४०० वर्ष पहिले भनेको सन्दर्भ आज पनि सान्दर्भिक छ –आदर्श नेता हुनका लागि पारिवारिक मोह र बन्धनबाट मुक्त हुनैपर्छ ।

निसन्तान प्रधानमन्त्री ओलीले परिवारवादको क्रमभङ्ग अपेक्षा गरिएको हो । छोराछोरीलाई स्थापित गर्न आफ्नै विरासत बन्दकी राख्नुपर्ने पितृ–बाध्यताबाट उनी मुक्त रहन सक्छन् । सात पुस्ताका लागि सोच्नुपर्ने सुर्तापनि ओलीका लागि नहुनुपर्ने हो । पार्टी पनि कमरेडेली अर्थात सबै नेता कार्यकर्ता साथी भन्ने खालको हो ।

तर, कमरेडेली राजनीति गर्ने भनिएको उनको पार्टीभित्रै उनलाई एकथरीले बाउ भन्न थाले । जसले बाउ भन्न थाले उनै नजिक भए, सत्ता, शक्ति र स्रोतमा उनीहरुको ताउ तागेकै छ । ओलीको राजनीतिलाई आफ्नो बपौती ठान्नेहरु ओलीका लागि मुख्य खतराका घण्टी सावित हुँदै छन् । नक्कली सन्तानदेखि सावधान रहन सके प्रधानमन्त्री ओलीले सक्कली रुपमै परिवारवाद विसर्जन गर्न सक्नेछन् । यसो गर्दा ओली नेपाली राजनीतिमा नयाँ अध्याय आरम्भ गर्ने राजनेता ठहरिनेछन् ।

विश्लेषक पौडेलको यो लेखको शीर्षक हामीले दिएका हौं –सम्पादक । 

नरेन्द्र मोदी केपी शर्मा ओली नारायण पौडेल परिवारवाद

विशेष