खेल

धानी र राुहल चम्किँदा बंगलादेशमाथि भारतको शानदार जीत

धानी र राुहल चम्किँदा बंगलादेशमाथि भारतको शानदार जीत

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि बंगलादेश विरुद्धको अभ्यास खेलमा भारत ९५ रनले विजयी भएको छ । ३६० रनको लक्ष्य पछ्याएको बंगलादेश ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६४ रनमै समेटियो । उसका लागि मुस्फिकुर रहिमले ९०, लिटोन दासले ७३, मेहदी हसन मिराजले २७, सौम्य सरकारले २५ र मोहम्मद सैफउद्दिनले १८ रनको योगदान दिए । बलिङमा भारतका कुलदीप यादव, युजवेन्द्र चहलले ३–३, जसप्रित बुमराहले २ र रविन्द्र जडेजाले १ विकेट हात पारे ।

 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रन बनायो । उसका लागि महेन्द्रसिंह धोनी र लोकेश राहूलले शतक बनाए । धोनीले ७ छक्का र ८ चौकाको मद्दतमा ७८ बलमा ११४ रनको योगदान दिए । राहुलले ४ छक्का र १२ चौकाको सहयोगमा ९९ बलमा १०८ रन बनाए । यस्तै, कप्तान विराट कोहलीले ४७, हार्दिक पाण्ड्याले २१, रोहित शर्माले १९, शिखर धवनले १, विजय शंकरले २ रन लगाए ।

 

रविन्द्र जेडजा ११ र दिनेश कार्तिक ७ रनमा अविजीत रहे । बलिङमा बंगलादेशका शाकिव अल हसन, रुबेल हुसेनले २–२, सब्बीर रहमान, मोहम्मद सैफउद्दिन र मुस्तफिजुर रहमानले एक–एक विकेट हात पारे । यो संस्करणको विश्वकप भोलि (बिहीबार) देखि इंग्ल्याण्डमा शुरु हुँदैछ । उद्घाटन खेलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै छन् ।   

एकदिवसीय विश्वकप क्रिकेट बंगलादेश भर्सेस भारत

विशेष