मौसममा परिवर्तनः मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिक बदली रहने र मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको हो ।
मौसमविद मीनकुमार अर्यालका अनुसार मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन पानी पर्ने देखिएको छ । बंगालको खाडी र स्थानीय वायुको प्रभावका कारण पनि पानी पर्न लागेको हो । अर्यालका अनुसार मनसुनको प्रि–सिजन सुरु भैसकेको छ । बंगालको खाडीबाट पूर्वतिर जलवाष्पयुक्त हावा वहन थालिसकेको छ ।
यद्यपि मनसुन भने जुन १० तिर सुरु हुने गरेको छ । केही दिन निरन्तर वर्षा र केही दिन चर्काे घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् अर्यालले बताए ।