कभर स्टोरी

अर्थमन्त्रीले राजनीतिक दबाब झेल्न सक्नु भएन (भिडियोसहित)

अर्थमन्त्रीले राजनीतिक दबाब झेल्न सक्नु भएन (भिडियोसहित)

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट वितरणमुखी भए पनि निराशाजनक नभएको पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले बताएका छन् । 

 

नेपालआजसँगको कुराकानीका क्रममा कोइरालाले हालको बजेटले पूर्वाधार विकासका लागि ठूलो रकम विनियोजन गरेकोले यसलाई खराब मान्न नसकिने उनले बताए । 

 

 

सडक, रेलमार्ग, विमानस्थल, शिक्षा, स्वास्थ्यमा छुट्याएको बजेटको आकार हेर्दा बजेटबाट निराश हुनु पर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । रड र सिमेन्टमा अन्तशुल्क वृद्धि गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको उनले बताए । उखु किसानका लागि अनुदान घोषणा गरेर पनि सरकारले सही निर्णय गरेको उनको ठम्याईं छ । 

 

पूर्वअर्थसचिवसमेत रहेका कोइरालाले कर्मचारीको तलवबृद्धि, वृद्धभत्तामा बृद्धि, सांसदहरुलाई पैसा दिने जस्ता कार्यले बजेटलाई वितरणमुखी बनाएको उनको भनाइ छ । स्थानीय तहहरुमा स्थानीय सरकार नै रहिसकेका कारण सांसदलाई बजेट दिनु गलत रहेको उनको भनाइ छ । 

 

राजनीतिक दलका नेता, कार्यकर्ता र सांसदहरुको दबाब थेग्न नसकेर अर्थमन्त्रीले वितरणमुखी बजेट ल्याएको कोइरालाको अनुमान छ । 

 

अर्थमन्त्रीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशत भन्दा बढी पूँजीगत खर्च हुन्छ भन्नुले केही शंका उत्पन्न गरेको उनले स्पष्ट पारे । उनले भने, ‘छोटो समयमा हतारमा हामी खर्च गर्न खोज्छौं भने गुणस्तरमा सम्झौता गर्नै पर्ने हुन्छ ।’


 

शंकरप्रसाद कोइराला

विशेष