मुम्बई आइपीएलको प्लेअफमा प्रवेश, ‘सुपर ओभर’ मा हैदरावाद पराजित
काठमाडौं । मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ‘प्लेअफ’ मा प्रवेश गरेको छ । बिहीबार राति सनराइजर्स हैदराबादलाई ‘सुपर ओभर’ मा पराजित गर्दै मुम्बई ‘प्लेअफ’ मा प्रवेश गरेको हो । यसअघि दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्लअेफमा पुगिसकेका छन् ।
मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनायो । रन बराबरी भएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो । ‘सुपर ओभर’ मा पहिला ब्याटिङ गर्दै हैदरावादले ८ रन बनायाे । ९ रनको लक्ष्य पाएको मुम्बईले ३ बल अगाडि नै खेल जित्न सफल भयो । यो जीतसँगै मुम्बई १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
१६३ रनको लक्ष्य पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो । जीतबाट एक रनले चुकेको हैदरावादको खेलमा मनिष पाण्डेले ८ चौका र २ छक्काको मद्दतमा नटआउट ७१ रन बनाए । यस्तै मोहम्मद नाबीले ३१, ऋद्धिमान शाहले २५, मार्टिन गुप्टिलले १५, विजय शंकरले १२ रन जोड्नुबाहेक अन्यको प्रदर्शन सम्झनलायक भएन । बलिङमा मुम्बईका जसप्रित बुमराह, कुणाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट लिए ।
यसअघि, टस जितेर घरेलु मैदान वाङखडेमा ब्याटिङ रोजेको रोहित शर्मा नेतृत्वको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो । उसका लागि क्विन्टन डि ककले नटआउट ६ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए । कप्तान रोहित शर्माले २३, सूर्यकुमार यादवले २३, हार्दिक पाण्ड्याले १८, किरण पोलार्डले १० र नटआउट कुणाल पाण्ड्याले ९ रन बनाए । बलिङमा हैदरावादका खलिल अहमदले ३, भुवनेश्वर कुमार र मोहम्मद नाबीले एक–एक विकेट लिए ।
आइपीएल मुम्बई भर्सेस हैदरावाद