स्वास्थ्य

गर्मीबाट कसरी बच्ने ?

गर्मीबाट कसरी बच्ने ?

केही दिनयता तराईं क्षेत्रमा प्रचण्ड गर्मी र त्यसपछि चलेको तातो हावाले मानिस बिरामी पर्ने गरेको समाचार आइरहेको छ । त्यताको प्रभाव पछिल्ला केही दिनयता अझ बढ्न थालेको छ ।

अत्यधिक गर्मीका कारण आम सर्वसाधारणमा उच्च ज्वरो आउन सक्ने, चक्कर लाग्ने, बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखा पर्न थालेको छ । अत्यधिक गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने, बान्ता आउने, टाउको दुख्ने तथा झाडापखलाजस्ता लक्षणहरू देखिन सक्छ ।

गर्मीले सताउँदा के गर्ने ?

अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनुपर्दा छाता ओढ्ने र कालो चस्मा लगाउने गर्नुपर्छ । अत्याधिक गर्मीको समयमा खेतबारीमा काम गर्नु वा कडा व्यायाम गर्नुहुँदैन । खेतबारीमा काम गर्नेले पनि बिहान–बेलुकाको समयमा काम गर्ने र दिउँसो शीतल ठाउँमा बस्नुपर्छ ।

२४ घन्टामा हरेक स्वास्थ्य व्यक्तिले कम्तीमा एक लिटर पिसाब फेर्नुपर्छ । ‘लु’ अर्थात् तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनुहुँदैन, घरभित्र बस्नुपर्छ । साना बालबालिकाहरू, अशक्त, वृद्ध व्यक्तिहरू, पुरानो रोग भई औषधि सेवन गरिरहेका व्यक्तिहरू, ज्वरो आएका बिरामीहरू, धेरै मोटा व्यक्तिहरू गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुँदा उनीहरूको स्वास्थ्यमा विशेष ध्यान पुर‍्‍याउनुपर्छ ।

गर्मी समयमा पूरै शरीर ढाकिने गरी खुकुलो र हल्का रङका लुगा लगाउने गर्नुपर्छ । अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा गइ सल्लाह लिनुपर्छ ।

के नगर्ने गर्मीमा ?

बालबालिका र शिशुलाई तोरीको तेल वा अन्य तेल लगाउनुहुँदैन, यसबाट पसिना कम निस्कन गई झन् गर्मी हुन सक्छ । रक्सी खानुहुँदैन, यसले झन् जल वियोजन वा पानीको कमी गराउँछ । धेरै गुलिया खानेकुरा खानुहुँदैन, यसबाट पनि शरीरमा झन् गर्मी उत्पन्न हुन सक्छ । धेरै गह्रौँ काम वा कडा व्यायाम गर्नुहुँदैन ।

गर्मी

विशेष