नेपाल र चीन रेलबाट जोडिदा पर्यावरण बिग्रिने
काठमाडौं। नेपाल र चीनबीच रेल कनेक्टिभिटीका लागि गरिने भौतिक निर्माणले हिमाली क्षेत्रको पर्यावरण प्रभावित हुन सक्ने देखिएको छ ।
चीनले शिगात्सेसम्म ल्याएको रेललाई केरुङ हुँदै काठमाडौं ल्याउने योजनामा दुई देश छन् । तर यस्तो निर्माण गरिएमा यसले हिमाली क्षेत्रमा पानी दूषित हुने, जलचरहरुमा प्रभाव पर्ने, प्राकृतिक स्रोतहरुमा समेत हानी पुग्न सक्ने देखिएको छ । चीनबाट नेपालसम्म रेल आएमा त्यसबाट भारतसँग पनि व्यापार गर्न सजिलो हुने चिनियाँ पक्षको आशा छ । तर भारले यो चिनियाँ रेलका माध्यमबाट हुने व्यापार स्वीकार गर्ने नगर्ने अहिलेसम्म निश्चित भइसकेको छैन ।
चीनले तिब्बत प्रवेशमा निकै कडाई गरेको छ । नेपाल र चीनबीच ट्रान्स हिमालय कनेक्टिभिटीका लागि पनि सम्झौता भएको छ । तिब्बत र नेपालबीच रेल कनेक्टिभिटी भएमा तिब्बतमा चीनले गरेको कडाईमा चुनौती थपिन पनि सक्छ ।
नेपालले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोडमा पनि सहमति जनाएको छ । तर यसका लागि अर्बौं डलर लगानी आवश्यक पर्छ । यस्तो लगानी कसले गर्ने भन्ने निक्र्यौल हुन सकेको छैन । कति खर्च लाग्छ भन्ने पनि स्पष्ट छैन । त्यसमाथि नेपाल र भारतमा जसरी सीमामा वारपार गर्न नेपाल र तिब्बतको सीमामा सम्भव छैन । यस्तो अवस्थाले बिआरआइलाई प्रभावित पार्न सक्छ ।
नेपालमा चीनले थालेका धेरै योजनाहरु लथालिंग छन् । यस्तो अवस्थामा उसले ल्याएका अरु कार्यक्रमहरुबाट कति आशावादी हुन सकिन्छ भन्ने टुंगो छैन । गौतमबुद्ध विमानस्थल, त्रिभुवन विमानस्थलको काम, ढल्केवर सबस्टेसन निर्माण, चमेलिया जलविद्युत जस्ता योजना चिनियाँ कम्पनीहरुले अल्झाएर राखेका छन् ।
(यो समाचार पब्लिक न्यूज एजेन्सीबाट साभार गरिएको हो ।)