चिनियाँ जहाजको सास्तीः निगमका इन्स्ट्रक्टर पाइलट अमेरिका भासिए, जहाज ग्राउण्डेड
काठमाडौं । नेपाल वायु सेवा निगमले चिनियाँ कम्पनीसँग खरिद गरेको १७ सिटे तीन वटा वाइ १२ ई र एउटा एमए ६० जहाज इन्स्ट्रक्टर पाइलट नहुँदा ग्राउण्डेड भएका छन् ।
खरिद गरेको छोटो समयमै पटक पटक बिग्रेर हैरान पारिसकेका चिनियाँ जहाजमध्ये एमए ६० र एउटा वाई १२ ई जहाज त पाइलट भए पनि उडान नसकिने अवस्थामा पुगेका छन् । मर्मतका लागि भनेर ग्राउण्डेड गरिएको लामो समय भइसक्दा पनि उडाउनयोग्य भइसकेको छैन ।
इन्स्ट्रक्टर पाइलटका लागि तालिम दिलाउन निगमले आङ नुरी शेर्पालाई चीन पठाइएको थियो । निगमको खर्चमा उनले तालिम लिएर फर्के लगत्तै अमेरिका भासिए । यस्तो हर्कत गर्दा पनि शेर्पालाई कारबाही गर्ने तदारुकता निगम व्यवस्थापनले देखाएको छैन । जबकी विवादास्पद वाइडबडी जहाज खरिदका क्रममा निगमको तदारुकता उच्चस्तरको थियो ।
शेर्पाले निगमसँग गरेको सम्झौता उल्लंघन गरिरहेको विषय गोप्य छैन । तर पनि सम्बन्धित निकायले कुनै कदम चालेको छैन । शेर्पाकै कारण दुई वाई १२ ईका क्याप्टेनहरु नृपेन्द्र भट्टराई र सन्जय बञ्जाडेले ती जहाज उडाउन सकेका छैनन् ।
क्याप्टेनहरुले इन्स्ट्रक्टर पाइलटबाट हरेक छ महिनामा तालिम लिनु पर्छ । यसो हुन नसक्दा निगमका क्याप्टेनहरुले जहाज उडाउन पाएका छैनन् । चिनियाँ जहाजका कारण निगम अर्बौं घाटामा गइसकेका छ ।
(यो समाचार पब्लिक न्यूज एजेन्सीबाट साभार गरिएको हो ।)