स्वास्थ्य

अन्तिम संस्कार गर्न लाग्दा श्वास फेरेपछि...

अन्तिम संस्कार गर्न लाग्दा श्वास फेरेपछि...

भरतपुर। चितवनमा एक शिशुको मृत्यु भएको भन्दै अन्तिम संस्कार गर्न लाग्दा श्वास फेरेपछि अस्पतालमा लगिएको छ ।

 

शिशुको दाहसंस्कार गर्न देवघाट लगेर पुर्न लाग्दा श्वास फेरेको देखेपछि पुन: अस्पताल लगिएको हो । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको (मृत) चिकित्सकले जनाएसँगै परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी अविवाहिता युवतीले शिशु जन्माएकी थिइन् । शिशुको मृत्यु भएको भन्दै परिवारले अन्त्येष्टि तयारी गरेको अवस्थामा स्थानीयवासीले जीवितै देखेपछि अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए ।

 

शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । युवती अविवाहिता भएकी हुनाले उनको नाम र ठेगना गोप्य राखिएको उनको भनाइ थियो । उक्त अस्पतालले शिशुको सोमबार दिउँसो साढे १२ बजे निधन भएको परिवारलाई जानकारी गराएको थियो ।

विशेष