महिलामाथिको हिंसा सह्य छैन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि कुनै प्रकारको हिंसा हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले महिलामाथि हिंसा भएमा पीडकमाथि कडा कानूनी कारवाही गरिने बताए । महिलाको सशक्तीकरणका लागि थुप्रै कार्यक्रम ल्याइएको जानकारी दिँदै उनले महिलाको समस्याका रुपमा रहेको स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न सक्ने व्यवस्था मिलाइएको बताए । उनले भने, “सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण, महिला उद्यमीको क्षमता वृद्धि, सम्पत्तिको अधिकार बढाउन विविध कार्यक्रम ल्याइएको छ ।”
पूर्वाधार, कृषिको विकास, विद्युतीकरण र पर्यटनको विकास गर्नु नीति कार्यक्रमको प्राथमिकता रहेको दोहोर्याउँदै उनले डिजिटल नेपाल र साक्षर नेपाललाई सार्थक बनाउन सरकार क्रियाशील रहेको बताए ।
नेपालमा अब निरपेक्ष गरीबी एक दुई वर्षभन्दा अगाडि नजाने जिकिर गर्दै उनले भने, “अब कोही भोकै मर्दैन, भोकै पर्दैन, आवासविहीन हुँदैन, आधारभूत शिक्षा निःशुल्क र खाजाको समेत व्यवस्था गरेका छौँ । स्वाथ्य बीमा कार्यक्रम ल्याइएको छ ।” सडकमा अलपत्र बेसहारा, अशक्त, अपाङ्गता भएका व्यक्तिको सरकारले संरक्षण गर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने पनि बताए ।