मुख्य समाचार

विज्ञापन विधेयक पारित भए केबल व्यवसाय समाप्त हुने, विदेशी च्यानल हेर्न नपाइने 

विज्ञापन विधेयक पारित भए केबल व्यवसाय समाप्त हुने, विदेशी च्यानल हेर्न नपाइने 

पब्लिक न्युज एजेन्सी,काठमाडौं । चार वर्षअघि नै सरकारले रोकेको क्लिन फिडसम्बन्धी व्यवस्था विज्ञापन विधयेकमा समावेश गरेर सरकारले लागू गर्न आँटेपछि नेपालका केबल प्रसारकहरु चिन्तित भएका छन् । 

 

प्रतिनिधिसभाबाट पारित भएर विज्ञापन सम्बन्धी विधयेक राष्ट्रियसभामा पुगेको छ । संसदमा विचाराधीन सो विधेयक जस्ताको त्यस्तै पारित भएमा क्लिनफिड सम्बन्धी व्यवस्था पनि लागू हुनेछ । त्यस्तो भएमा विदेशी च्यानलहरु नेपालमा लगभग बन्द हुने केबल प्रसारकहरुले औंल्याएका छन् । 

 

क्लिन फिड लागू गर्दा विदेशी च्यानलमा आउने विज्ञापनहरु कटौती गर्नुपर्ने हुन्छ । विज्ञापन हटाइएको स्थानमा नेपाली विज्ञापन राख्नु पर्छ । यसो गर्नका लागि धेरैजसो विदेशी च्यानल तयार हुँदैनन् । नेपालको सानो बजारमा बेग्लै संयन्त्र खडा गरेर च्यानल प्रशारण गर्नमा उनीहरुको रुची नहुन सक्छ । जसका कारण उनीहरुले नेपालमा च्यानल बन्द नै भए पनि होस् भनेर छाड्ने अवस्था हुने एक केबल सञ्चालकले बताए । 

 

सो विधेयक पारित भएमा विदेशी च्यानलमा प्रशारण हुने विज्ञापन हटाएर नेपाली विज्ञापन राख्नु पर्ने जिम्मेवारी नेपाली केबल प्रसारकहरुले लिनु पर्ने हुन्छ । विधेयकमा भएको यस्तो प्रावधानको केबल प्रसारकहरुले विरोध गरेका छन् । नेपालमा भारतीय च्यानलहरु बढी लोकप्रिय छन् । धेरै मानिसहरुमा भारतीय च्यानलको लत नै परेको छ । 

 

विधेयक पारित भएर कार्यान्वयनमा आयो भने ती भारतीय च्यानलहरु नेपालमा बन्द हुन सक्छन् । यो विधेयकविरुद्ध केबल महासंघ नेपालले विमती जनाइसकेको छ । 

 

७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदै क्लिन फिड नीति लागू गर्ने सरकारले तयारी गरेको थियो । आमसंचार नीति निर्माण उच्च स्तरीय समितिले पनि क्लिन फिड नीति लागू गर्न सुझाव दिएको थियो । क्लिन फिड लागू भएमा केबलको चाबी सरकारलाई बुझाउने तयारी भएपछि सरकारले तयारी नपुगेको भन्दै सो काम रोकेको थियो । 

 

तर क्लिन फिड लागू हुनै पर्ने तत्कालीन आमसञ्चार नीति निर्माण उच्चस्तरीय समितिका सदस्य टीकाराम राई बताउँछन् । उनी भन्छन्, ‘भुटानमा  क्लिन फिड लागू छ । नेपालमा नहुने भन्ने हुन्छ ? टेलिभिजन हेरेको पनि पैसा लिने, विज्ञापन पनि प्रशारण गर्न पाइने संसारको एकमात्रै देश नेपाल भएको छ ।’
 

विशेष