‘मेरो सरकार’ भन्ने शब्द जानेर, योजना बनाएरै राखिएको हो–प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ प्रकरणलाई थप बचाउ गरेका छन् । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ७६/७७ को नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जन्मसिद्धले पाउने सम्मानलाई हामी स्वीकार गर्छौैं । तर यो सामन्ति संस्कार हो । जनताबाट चुनिएकाको गरिमा र सम्मान हुन्छ । जनताबाट निर्वाचितहरुको सम्मान हुनुपर्छ ।’
सांसदहरुले सामान्य विषयहरुमा कुरा उचालेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । यो अन्तर्राष्ट्रिय अभ्यास हो । भारतमा पनि हुन्छ । बेलायतकी महारानीको जस्तो भयो भन्ने टिप्पणी शोभनीय भएन । किनभने बेलायतकी महारानीलाई नकारात्मक रुपमा प्रस्तुत गर्नु हुँदैन ।’
‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी नै योजना बनाएर राखिएको पनि प्रधानमन्त्री ओलीले भने । राष्ट्रप्रमुखको हैसियतले ‘मेरो सरकार’ भन्नु वाञ्छनीय हुने उनले दावी गरे ।
नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले कुनै जवाफ दिन योग्य टिप्पणी नगरेको उल्लेख गरे ।
सरकारको कार्यक्रमलाई दिउँसै सपना भन्नेहरुलाई उनले भने, ‘माननीयजीहरुलाई सपना भनेको निदाएको बेला मात्रै देखिन्छ भन्ने लागेछ । हामीले ननिदाई देखिने सपनाको कुरा गरेका हौं । हामीले देश बनाउने सपना देखेका हौं । दीगो विकासको लक्ष्य सपना हो ।’ संविधान संशोधनको विषय जुनसुकै मौसममा पनि गाउने गीत जस्तो भएको प्रधानमन्त्री ओलीले बताए । देशको हितको पक्षमा केही गर्नुपर्ने भए गर्न आफू तयार भएको उनले बताए । पब्लिक कन्जम्प्सनका लागि संविधान संशोधनको कुरा गर्नु ठीक नहुने उनले स्पष्ट पारे ।