देश

३ सय २० स्थानीय तहले बुझाएनन् रिक्त विवरण

३ सय २० स्थानीय तहले बुझाएनन् रिक्त विवरण

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४ सय ३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् ।

 

मन्त्रालयले गत वैशाख २० गतेसम्म ७ सय ५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४ सय ३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिए ।

 

अझै ३ सय २० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । उनले दरबन्दी विवरण नबुझाउने स्थानीय तहलाई ताकेता गरिएको जानकारी गराए । उनका अनुसार ती स्थानीय तहले करीब १० हजार कर्मचारीको रिक्त दरबन्दी विवरण पठाएका छन् ।

 

मन्त्रालयले रिक्त दरबन्दीको पदपूर्तिका लागि स्थानीय तहबाट विवरण माग गरेको हो । स्थानीय तहले पठाएको विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको उनले जानकारी दिए । स्थानीय तहबाट सङ्कलन गरिएको विवरणलाई मन्त्रालयले विज्ञापन गर्न लोकसेवा आयोगलाई पठाउने सहसचिव बरालले बताए ।

 

स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरे पनि अझै १६ हजार १ सय १८ कर्मचारी अपुग छन् । जनताको प्रत्यक्ष सेवा जोडिएको स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन सरकारले यसै आर्थिक वर्षभित्र स्थानीय तहमा रिक्त रहेको पदपूर्ति गर्न दरबन्दी माग गरेको हो ।

 

मन्त्रालयले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५ सय ४०, साविक जिल्ला विकास समितिबाट १ हजार २ सय ४१ र अन्य सेवाबाट ३ सय १६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७ हजार ६ सय ५० कर्मचारी समायोजन गरिएको थियो ।

 

मन्त्रालयले सङ्घमा ४८ हजार ४ सय ९ को दरबन्दीमा ४० हजार ७ सय ६९ र प्रदेशमा २२ हजार २ सय ९७ मध्ये १४ हजार ६ सय ५९ समायोजन गरेको थियो । सङ्घमा सात हजार ६ सय ४० र प्रदेशमा ७ हजार ६ सय ३८ कर्मचारी अझै अपुग छन् ।

विशेष