देश

बन्द रहेको जुम्ला विमानस्थल सञ्चालनमा

बन्द रहेको जुम्ला विमानस्थल सञ्चालनमा

जुम्ला। वैशाखदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ।

 

बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि बन्द भएको विमानस्थल आजदेखि नियमित सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले बताए। बाँकी रहेको स्तरोन्नतिको काम समयमै सकिएकाले आजदेखि विमानस्थल सञ्चालनमा आएको उनको भनाइ थियो। विमानस्थल सञ्चालन पहिलो दिन समिट एयरको जहाजले उडान गर्‍यो।

 

विमानस्थल धावनमार्गको काम सम्पूर्ण सकिएको र पार्किङको काम भने बाँकी रहेको शर्माले जानकारी दिए। पार्किङको काम बाँकी रहे पनि खासै जहाज अवतरणमा समस्या नहुने बताइएको छ। पार्किङको बाँकी स्तरोन्नति काम भइरहनेछ। विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउन २० दिनका लागि विमानस्थल नै बन्द गरिएको थियो।

 

पार्किङकतर्फ स्तरोन्तिका लागि चाहिने निर्माण सामग्री आउन नसकेकाले स्तरोन्नति कार्यमा ढिलाइ हुने बताइएको छ। ६७५ मिटर धावनमार्गको कालोपत्रको काम सकिएको हो। बाँकी पार्किङको काम जहाज चलाउँदै कालोपत्र गर्ने तयारी भइरहेको छ। पहिलो चरणमा झण्डै ३९० मिटर धावनमार्ग कालोपत्र भइसकेको थियो।

 

बाँकी २८० मिटर धावनमार्ग कालोपत्रको काम यो अवधिमा सकिएको हो। एपेक्स पृथ्वी र अमित जेभीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए। धावनमार्ग मर्मतका लागि चाहिने सबै सामग्री उपलब्ध भइसकेकाले मर्मतको काम छिटो भएको हो। विमानस्थल २० दिनसम्म बन्द भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाइ सेवा बन्द भएको थियो।

 

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन। विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो।

 

विमानस्थलका लागि रु चार करोड ५२ लाख रकम विनियोजन भएको शर्माले जानकारी दिए। अब मौसका कारणबाहेक अरु कुनै कारणले उडान कार्यमा अवरोध नहुने भएको छ। पार्किङको काम जेठ महिनाभित्रमा सकिने छ। दुई चरणमा जुम्ला विमानस्थलको स्तरोन्नतिको काम भएको हो। जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान गर्ने गरेका छन्।

विशेष