छन्दका चर्चित कवि मनोज भण्डारी भन्छन्, ‘ मलाई कवि मन पर्दैन’ (भिडियोसहित)
कुन कवि होला जसलाई लेखक वा कवि मन पर्दैन । झट्ट हेर्दा वा सुन्दा आश्चर्य लाग्न सक्छ । घमण्ड र दम्भपूर्ण अभिव्यक्ति देखिन सक्छ । तर, त्यसो होइन ।
तपाईंलाई मन पर्ने कवि को हो ? भन्ने प्रश्नमा जवाफ फर्काउँदै कवि मनोज भण्डारीले रोचक जवाफ दिएका हुन् । उनले भने, ‘मलाई कवि होइन, कविता मन पर्छ । अझ कविता भित्रका खास केही पंक्ति मात्र मन पर्छन् । पूरै कविता राम्रो हुँदैन तर भित्रका केही पंक्तिले मन छोइरहेका हुन्छन् । ’
राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘गौरी’ राम्रो कृति हो । तर, ‘ गौरी’ भित्रका केही हरफ अन्य भन्दा आफूलाई बढी मन पर्छन भन्दै उनले यसरी सुनाए :
तिम्रो अन्तिमको सिंगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी
महाकवि लक्ष्मीप्रसाद देवाकोटाको खण्डकाब्य ‘मुनामदन’ नेपालीमाझ निकै लोकप्रिय छ । तर, अधिकांश मानिसलाई याद हुने भनेका यी पंक्ति हुन् :
हातका मैला सुनका थैला के गर्नू धनले
साग र सिस्नु खाएको बेश आनन्दी मनले
क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन
यस्तै, खास कुनै कवि भन्दा पनि कविता र कविता भित्रका केही हरफ मात्र आफूलाई मन पर्ने गरेको भण्डारी बताउँछन् ।
वाचन भन्दा शब्द बलियो
कवि भण्डारी कविता लेखनसंगै वाचनमा पनि निकै अब्बल छन् । विभिन्न साहित्यिक कार्यक्रम र सामाजिक संजालमा उनको लोकप्रियता कस्तो छ भन्ने प्रष्ट देखिन्छ । छन्द कविका रुपमा परिचित भएपनि भण्डारी गद्य र गजल लेखनमा पनि पारंगत छन् ।
चितवन मेघौली घर भएका चर्चित छन्द कवि मनोज भण्डारी हाल बनारसमा संस्कृत ब्याकरणमा आचार्य गरिरहेका छन् । छन्द कविता लेखन र वाचनमा उनको जोडा छैन भने पनि हुन्छ । उनी भन्छन्, ‘कविताको सशक्त पक्ष भनेकै विषयवस्तु र शब्द हो । उमेर र रुचि अनुसार मान्छेले विषय मन पराउने हो । वाचनले सुनमा सुगन्ध भनेझैं कवितालाई प्रभावकारी बनाउँछ तर शब्द भन्दा बलियो वाचन पक्ष हुँदैन ।’
प्रेम र कविता
भर्खर २३ बर्षमा हिंडिरहेका कवि भण्डारीलाई प्रेमका थुप्रै प्रस्ताव आउने गर्छन् । कति प्रत्यक्ष र कति सामाजिक संजालमार्फत । यसरी प्रस्ताव गर्नेहरु अधिकांश कविता र वाचन मन पराउनेहरु नै रहेका छन् ।
उनी भन्छन्, ‘तर, म हौसिने वहकिने गरेको छैन । आफनो सामाजिक प्रतिष्ठा र लक्ष्य स्पष्ट बुझेकाले त्यस्ता विषयमा परेको छैन र हाल कुनै सोच पनि छैन ।’
आफूले बेलाबेला दारी जुंगा लामै पाल्ने गरेको विषयलाई प्रेम र जीवनसंग नजोड्न उनको आग्रह छ । भण्डारी हाँस्दै भन्छन्, ‘ कहिले पाल्छु, कहिले फालिदिन्छु, यसमा प्रेम वा भनौ वैरागका विषय जोडिएका छैनन् । ’
भाषा बिग्रनुको कारण
भाषा विज्ञान र संस्कृत व्याकरणका अध्येतासमेत रहेका भण्डारीले नेपाली भाषा बिग्रनुको कारण संस्कृत भाषाप्रतिको अनुदार दृष्टि र अंग्रेजी भाषाप्रतिको मोह रहेको दावी गरे । उनका अनुसार संस्कृत सबै भाषा र क्षेत्रका लागि महत्वपूर्ण छ ।
अझ नेपाली भाषाको संरक्षण र समृद्धिका लागि त यो निकै अनिवार्य छ । तर बिडम्बना ! हामीकहाँ राज्यस्तरबाट जुन हिसाबले ध्यान दिनुपर्ने हो, त्यो हुन सकेको छैन ।