देश

प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा, उतैबाट कम्बोडिया जाने

प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा, उतैबाट कम्बोडिया जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

 

नेपाल वायुसेवा निगमको चार्टड जहाजबाट प्रधानमन्त्री ओली भियतनामतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण पनि गर्ने छन् ।

 

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनामी समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन्  । यस्तै, उनले त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने छन् ।

 

भियतनाम भ्रमणकै क्रममा त्यहाँको हानाम प्रान्तमा आयोजना हुने इन्टरनेसनल डे अफ भैशाख ९बौद्ध धर्मावलमीहरूको पर्व० लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले हो ची मिन नेसनल एकेडमी अब पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच केही सम्झौता हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउन समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

 

 यसैगरी कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुने कार्यक्रम रहेको छ ।  उनले त्यहाँको नेशनल एसेम्बलीका अध्यक्षसँग भेट गर्नुका साथै नोम पेनमा आयोजना हुने व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ ।

विशेष