भावुक हुँदै चर्चित क्रिकेटर युवराज सिंहले लिए सन्यास
भारतीय क्रिकेटर युवराज सिंहले खेलाडी जिवनबाट सन्यास लिएका छन्। सोमबार पत्रकार सम्मेलन गरेर उनले सन्यासको घोषणा गरेका हुन्।
युवराज सिंहले भारतलाई सन् २०११ को विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०११ को विश्वकपमा एक शतक र चार अर्धशतक सहित ३ सय ६२ रन बनाएका उनले १५ विकेटसमेत लिएका थिए। उनी उक्त विश्वकपमा प्लेयर अफ द सिरिज समेत बने।
‘एक क्रिकेटरका रुपमा यात्रा सुरु गर्दा कुनै दिन भारतका लागि खेलौँला भन्ने लागेको थिएन। लाहोरमा मैले पहिलो शतक हानेको थिएँ। टी–२० विश्वकपमा एकै ओभारमा ६ छक्का हान्नु पनि मेरा लागि यादगार क्षण थियो’, सन्यास घोषणामा युवराज भावुक देखिए,‘तर २०१४ को टि–२० विश्वकपको फाइनल मेरो जीवनको सबैभन्दा खराब खेल थियो। त्यतिबेलै मैले सोचिसकेको थिएँ- मेरो क्रिकेट करियर अब सकियो।’
उनले अगाडि थपे,‘म सानैदेखि आफ्ना पिताले भनेको बाटोमा हिडेँ र मैले देशका लागि खेल्ने उनको सपना पछ्याएँ। मेरा फ्यान जसले सदैव मेरो समर्थन गरे, म उनीहरुलाई धन्यवाद नदिई रहन सक्दिँन। मेरा लागि सन् २०११ को विश्वकप जित्नु, म्यान अफ दि सिरिज बन्नु एक सपना जस्तो थियो। त्यसपछि मलाई क्यान्सर भयो। त्यतिबेला मलाई आकाशबाट जमिनमा खसेजस्तो भएकाे थियाे। उक्त समयमा मेरो परिवार र मेरा फ्यानले मलाई साथ दिए।’
युवराजले आफूले खेलेका ३ सय ४ एक दिवसीय अन्तर्राष्ट्रियमा ८ हजार ७ सय १ रन बनाएका छन्। यस्तै ५८ टि–२० अन्तर्राष्ट्रियमा १ हजार १ सय ७७ र ४० टेष्ट क्रिकेटमा १ हजार ९ सय रन बनाएका छन्।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा युवराजको नाममा १४ शतक र ५२ अर्धशतक छ। उनले एकदिवशीय अन्तर्राष्ट्रियमा १ सय ११ र टी–२० अन्तर्राष्ट्रियक क्रिकेटमा २८ विकेट समेत लिएका छन्।