खेल

विश्वकप क्रिकेटः अष्ट्रेलिया र भारतको खेलमा बनेका ८ कीर्तिमान

विश्वकप क्रिकेटः अष्ट्रेलिया र भारतको खेलमा बनेका ८ कीर्तिमान

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको १४ औं खेलमा गत संस्करण विजेता अष्ट्रेलिया भारतसँग ३६ रनले पराजित भएको छ । ३५३ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउँदै ३१६ रन मात्र बनाउन पुग्यो । आइतबार राति भएको भारत–अष्ट्रेलियाबीचको खेलमा थुप्रै कीर्तिमानसमेत बनेका छन् । ती मध्ये यस्ता छन् ८ प्रमुख कीर्तिमान–

 

१– अष्ट्रेलियाका विकेटकीपर एवं ब्याट्सम्यान एलेक्स केरीले २५ बलमा अर्धशतक पूरा गरे । जारी विश्वकपमा सर्बाधिक छिटो अर्धशतक बनाउने उनी पहिलो हुन् । 


२– भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले इंग्ल्याण्डमा चौंथो शतक बनाए । सचिन तेन्दुलकरलाई पछि पार्दै इंग्लिस मैदानमा सबैभन्दा बढी शतक बनाउने उनी पहिलो भारतीय ब्याट्सम्यान बन्न सफल भएका छन् ।

 

३– भारतविरुद्ध अष्ट्रेलियाका मिचेल स्टार्कले १० ओभरमा ७४ रच खर्चिए । विश्वकप इतिहासमा अष्ट्रेलियाको तर्फबाट सर्बाधिक रन दिने उनी पहिलो बलर बनेका छन् । 

 

४– भारतीय क्रिकेट टिम विश्वकप इतिहासमा सर्बाधिक शतक बनाउने पहिलो टोली बनेको छ । भारतले २७ शतक बनाउँदै अष्ट्रेलियालाई पछि पार्न सफल भयो । आइतबार राति शिखर धवनले शतक बनाए पछि भारतले यो सफलता हात पारेको हो । अष्ट्रेलियाले विश्वकपमा २६ शतक बनाएको छ । 

 

५– रोहित शर्मा अष्ट्रेलियाविरुद्ध वान डेमा २ हजार रन पूरा गर्ने दोस्रो भारतीय क्रिकेटर बनेका छन् । यसअघि सचिनले अष्ट्रेलियाविरुद्ध २ हजार पूरा गरिसकेका थिए । 

 

६– विराट कोहलीले आइतबार रातिको खेलमा ५०औं अर्धशतक पूरा गरे । उनलाई यो सफलता हात पार्न २२९ म्याच खेल्नु पर्यो । अष्ट्रेलियाविरुद्धको खेलमा उनले ७७ बलमा ८२ रनको योगदान दिए ।  

 

७– एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने क्रममा विराट कोहलीले १०९४३ रन बनाउँदै राहुल द्रविड (१०८८९) लाई पछि पारेका छन् ।

 

८– रोहित र शिखर धवनले आइतबार पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे । अष्ट्रेलियाविरुद्ध विश्वकपमा ओपनर ब्याट्सम्यानद्वारा बनाएको यो पहिलो शतकीय साझेदारी हो । 

 
 

भारत भर्सेस अष्ट्रेलिया विश्वकप क्रिकेट

विशेष