खेल

पुलिसबाट आर्मी ५० रनले पराजित

प्रदेश २ ले १ लाई पछार्यो

पुलिसबाट आर्मी ५० रनले पराजित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

शनिबार भएको खेलमा पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको हो  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १६२ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ४२ ओभर ३ बलमा १११ रन जोड्दा अलआउट भयो । आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ३४ रन जोडे । यस्तै राजु रिजाल र रोहित कुमार पौडेलले समान १६–१६ रन बनाए ।

पुलिसका ललित राजवंशीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २–२ विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर ४ बलमा अलआउट हुँदै १६१ रन बनाएको थियो । पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले ३६ तथा आरिफ शेखले ३४ रन बनाए ।
पुलिसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ३० रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट हात पारे । जितसंगै पुलिसले ३ खेलबाट ६ अंक जोडेको छ । र, पुलिसले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । पराजित आर्मीले ४ खेलबाट ६ अंक जोडेको छ ।

यस्तै शनिबार नै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई १६१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले दोस्रो जित निकाल्यो । प्रदेश २ ले दिएको २६६ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश १ ले २८ ओभर ५ बलमा अलआउट हुँदै १०४ रन मात्र बनाउन सक्यो  ।  प्रदेश १ का लागि मनिष थापाले सर्वा्धिक ३६ तथा सन्नी पुनले २९ रन जोडे । 

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्  । प्रदेश १ लाई सस्तैमा समेट्न २ नम्बर प्रदेशका कुमार थापाले एक्लैले ७ विकेट लिए  । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६५ रन बनाएको थियो । पराजित भएसंगै प्रदेश १ भने बाहिरिएको छ । प्रदेश १ ले ४ खेलमा २ अंक जोड्यो । यस समूहबाट कर्णाली प्रदेश ४ खेलमा पराजित हुँदै यसअघि नै बाहिरिसकेको छ ।

 

पुरुष क्रिकेट त्रिभुवन आर्मी क्लब

विशेष