Technology

टेलिकमले तराईका १७ जिल्लामा थप्यो २ सय ६० बिटिएस टावर

टेलिकमले तराईका १७ जिल्लामा थप्यो २ सय ६० बिटिएस टावर

काठमाडौं : नेपाल टेलिकमले यस आर्थिक वर्षको अहिलेसम्मको अवधिमा तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ। तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरीलगायत जिल्लामा कम्पनीले ती बीटीएसहरु सञ्चालनमा ल्याएको हो ।

तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए तापनि दुर्गम र कम जनघनत्व भएका कतिपय वस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन। पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रुपले उपलब्ध भएको टेलिकमले जनाएको छ।

जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भएपनि सबै नेपालीबीच कम्पनीको सेवा पुर्‍याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा पनि टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको हो ।

धेरै जनघनत्व भएका तराईका जिल्लाहरुमा उपभोक्ताको मागअनुसार कम्पनीका सेवाको पहुँच थप विस्तार गर्नका लागि पनि कम्पनीले बीटीएस निर्माणलाई तीव्रता  दिएको नेपाल टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन् । उनका अनुसार नेपाल टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी छ ।

कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको प्रवक्ता वैद्यको भनाइ छ ।

मुलुकभर गुणस्तरीय अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षभित्र थप स्थानमा बीटीएस टावर निर्माण गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ तीब्र रुपमा कार्य भइरहेको टेलिकमले जनाएको छ । सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार गर्ने कार्य पनि द्रूत गतिका साथ भइरहेको बताउँदै उनले अत्याधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य लिएको जानकारी दिइन् । 

नेपाल टेलिकम

विशेष