स्वास्थ्य

फैलिँदै नयाँ रोगकाे सन्त्रास, जोखिम न्यूनीकरणमा सरकारकाे बेवास्ता

फैलिँदै नयाँ रोगकाे सन्त्रास, जोखिम न्यूनीकरणमा सरकारकाे बेवास्ता

काठमाडौं । नेपालमा नयाँ र जटिल रोगको प्रकोप बढ्दै गएको छ । पछिल्लो १५ वर्षको अवधिमा नेपालमा चार प्रकृतिका नयाँ रोगको प्रकोप बढ्दै गएको छ । नयाँ रोगको जोखिम बढेसँगै सर्वसाधारणमा त्रास बढ्न थालेको छ । प्रकोप बढ्नेमा चिकेनगुनिया, स्क्रब टाइफस, डेंगु र बर्डफ्लु रहेका छन् । यी रोगबाट झन्डै २ हजार ५ सय नागरिक प्रभावित भएको ईपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती रोगको प्रकोप बढ्दै गए पनि सरकारले यसको नियन्त्रणमा खासै चासो देखाएको छैन । 

 

चिकित्सकका अनुसार ती रोग अत्यन्तै जोखिम प्रकृतिका छन् । मानिसको आवतजावत, मौसम परिवर्तनका कारण यस्ता रोग फैलँदै गएको महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । उनले भने, ‘मौसम परिवर्तनकै कारण तराईमा देखिने रोग उच्च पहाडमा देखिन थालेका छन्, मानिसको आवतजावतले पनि यस्ता रोग भित्रिने गरेका छन् ।’

 

महाशाखाको पछिल्लो तथ्यांकनुसार डेंगुबाट २ हजार १११, स्क्रब टाइफसबाट ३ सय र चिकेनगुनियाबाट १२ जना प्रभावित भएका छन् । ती रोग नियन्त्रणबाहिर छन् । केही रोगको खोज नै नहुँदा कति प्रभावित भए भन्ने आँकडासमेत आउन नसकेको बताइएको छ । त्यसैगरी, बर्डफ्लुसमेत मुलुकमा पटकपटक देखिने गरेको छ । पछिल्लो समय मुलुकमा फैलिएको बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको थियो । २१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको थियो । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

रोग

विशेष