मन्त्रिपरिषद्बाट विभिन्न देशका लागि राजदूत सिफारिस
यस्ता छन् अन्य निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतहरु सिफारिस गरेको छ । बंगलादेशका लागि डा. वंशिधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनको राजदूतमा दावा फुटी शेर्पालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा न्याय परिषद्को सिफारिस बमोजिम उच्च अदालत, पाटनका न्यायाधीश श्री मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सिरहा भन्सार कार्यालय विस्तारका लागि थप ४ विगाहा र ठाढी भन्सार कार्यालय विस्तारका लागि २ विगाहा ११ कट्ठा १४ धुर क्षेत्रफलको जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्वीकृती दिएको छ । त्यस्तै धितोपत्र बोर्डको रजत जयन्ती, शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती र वाङ्मय शताव्दी पुरूष सत्य मोहन जोशीको सतवार्षिक जन्मोत्सवमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृती दिएको छ । बैठकले नेपाल–कम्बोडिया व्यापार तथा लगानी सम्बन्धी संरचनात्मक सम्झौता स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरेको छ । इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय प्रवक्ता बास्कोटाले बताउनुभयो । जि–टु–जी प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न स्वीकृति दिइएको उहाले बताउनुभयो ।
त्यस्तै एकीकृत स्वास्थ शिक्षा सम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ भने संयुक्त अरव इमिरेट्स सरकार र मौरिसस सरकारसँग एमओयुमा हस्ताक्षर गर्न नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई अख्तियारी दिइएको छ ।