कभर स्टोरी

उपमेयर खड्गीले दिने भइन्, व्यक्ति खुसी पार्न सरकारी जमिन 

उपमेयर खड्गीले दिने भइन्, व्यक्ति खुसी पार्न सरकारी जमिन 

काठमाडौं । व्यक्तिलाई लाभ पुग्ने गरी काठमाडौं महानगरपालिकाको न्यायिक समितिले सार्वजनिक जमिन काटेर सडक बनाउनु पर्ने निर्णय गरेको पाइएको छ । 

 

महानगरले काठमाडौं वडा नम्बर पाँचस्थित धोविखोला करिडोरको भत्केको पुल(पहेलोपुल)स्थिति खोलाको जमिन काटेर स्थानीय बालकृष्ण श्रेष्ठका लागि ‘बाटो खोलिदिनू’ भन्ने निर्देशन दिएको छ । 

 

रोचक त के छ भने बाटो नपाएर पीडित दावी गर्दै महानगरको न्यायिक समितिमा उजुरी लिएर पुगेका बालकृष्ण श्रेष्ठको बाटो खोलाको जमिनले घेरेको देखिन्छ । तर उनले स्थानीय नन्दकुमार थापामगरलाई प्रतिवादी बनाएर फैसला गरेको छ । 

 

बाटो नपाएका भनिएका श्रेष्ठको कित्ता नम्बर २०४ को जमिन नक्सामा देखिन्छ । सो जमिनबाट सडकसम्म पुग्न बाटोमा पर्ने दुई वटा कित्ताका जमिन छन् । जुन कित्ता नम्बर २१८ र २१९ हुन् । 

कित्ता नम्बर २१९ र २१८ हुँदै पहिले कच्ची मोटरबाटो रहेको तर अहिले त्यहाँ तारबार लगाइएको महानगरको प्राविधिक टोलीले ठहर गरेको भन्दै न्यायिक समितिले बाटो दिनुपर्ने निर्णय गरेको छ । 

 

निजी कित्ताहरु ५७९,५०८ र २०४ लाई आवतजावत गर्नका लागि साविकमा भएको कच्चीबाटो अवरुद्ध भएकोले बाटो खोल्नुु पर्ने ठहर गरिएको छ । यी जमिन नन्दकुमारी थापामगरले बालकृष्ण श्रेष्ठलाई बेचेकी थिइन् ।

 

जमिन त बेचिन् तर बाटो बिनाको । अहिले किन्ने बालकृष्णले नन्दकुमारीलाई विपक्षी बनाएर न्यायिक समितिमा उजुरी दिए । समितिले जग्गा बेच्ने नन्दकुमारी हुँदा हुँदै पीडित भनिएका बालकृष्णलाई बाटो दिनु पर्ने तर त्यो खोलाको सार्वजनिक कित्ता काटेर भन्ने व्यहोराको निर्णय गरेको छ । 

कित्ता नम्बर २०४ बाट २१८ र २१९ हुँदै विगतमा बाटो रहेको दावी गरिएको छ । तर साविकको नक्सामा बाटो देखिँदैन । 

 

स्थानीय सरकारी सार्वजनिक जमिन संरक्षण समाजका सचिव वीरेन्द्र प्रजापति भन्छन्, ‘साविकमा बाटो रहेको प्राविधिक टोलीले प्रतिवेदन दिएको भनिएको छ । तर साविकको नक्सा हेर्दा त्यहाँ बाटो देखिदैन । जहाँबाट बाटो खोल्ने भनिएको छ, ती कित्ता सरकारी हुन् । निजीलाभका लागि किनबेच गर्ने अनि अहिले बाटो सरकारले दिने कुरा आउँदैन ।’

 

 प्रजापति भन्छन्, ‘कित्ता नम्बर २०४ जमिन टाठाबाठाहरुले नन्दकुमारी थापा मगरबाट फुत्काएको जमिन हो । उनी अहिले ९० वर्षकी छिन् । फटाहाहरुले उनको जमिन बैंकमा राखेर पैसा झिके । ऋण तिर्न नसकेपछि बैंकसँगको सेटिङमा बालकृष्णले हात पारे । अहिले उनीहरुलाई सरकारी जमिन मासेर बाटो चाहिएको छ ।’

आश्चर्य त के छ भने बालकृष्णको जमिन सरकारी कित्ताले घेरेको छ । तर उनले प्रतिवादी पहिलेको जमिनमालिक नन्दकुमारीलाई बनाएका छन् । प्रतिवादी बनाउने नै हो भने सरकारी कित्ताहरुलाई वा नेपाल सरकारलाई बनाउने पर्ने थियो । सरकारलाई प्रतिवादी बनाउँदा न्यायिक समितिले यस्तो फैसला गर्न नसक्ने देखिएपछि सोचविचार गरेरै अनुपयुक्त व्यक्तिलाई प्रतिवादी बनाएको सचिव प्रजापति बताउँछन् । 
 

उपमेयर खड्गी भन्छिन्, ‘न्यायिक मनले निर्णय गरेँ’
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सो क्षेत्रमा आफैंले स्थलगत निरीक्षण गरेपछि बाटो खोल्ने निर्णय गरेको बताएकी छिन् । उनले नेपालआजसँगको कुराकानीका क्रममा भनिन्, ‘बाटो नभइ महानगरपालिकाले घर बनाउन नक्सा पास गर्दैन । केही मानिसले घर बनाइसकेका छन् तर बाटो अवरुद्ध छ । यस्तो बेलामा ती नगरबासीलाई न्याय दिन बाटो खोल्ने निर्णय गरेकी हुँ ।’

पुरानो नक्सामा बाटो नभएको विषय महानगरपालिकालाई थाहा नहुने उनले स्पष्ट पारिन् । महानगरको प्राविधिक टोलीले बाटो भएको भन्ने रिपोर्ट दिएको र महागरका चार जना विशिष्ट सल्लाह र मेयरको अनुमति बमोजिम आफूले यस्तो निर्णय लिएको उपमेयर खड्गीले जानकारी दिइन् । 

 

विशेष