खेल

विश्वकपः अष्ट्रेलियासँग पाकिस्तान पराजित, वार्नरको शतक

विश्वकपः अष्ट्रेलियासँग पाकिस्तान पराजित, वार्नरको शतक

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार राति सम्पन्न पाकिस्तान विरुद्धको खेलमा अष्ट्रेलिया ४१ रनले विजयी भएको छ । ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा २६६ बनाएर अल आउट भयो । उसका लागि इमाम उल हकले ५३, मोहम्मद अफिजले ४६, वाहब रियाजले ४५, कप्तान सरफराज अहमदले ४०, हसन अलिले ३१, बाबर आजमले ३०, आशिफ अलिले ५ रन बनाए ।

 

पाकिस्तानका ३ खेलाडीले खाता नै खोल्न सकेनन् । फखर जमान, सोयम मलिक र मोहम्मद आमिर शून्य रनमै आउट भए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले ३, मिचेल स्टार्क, केन रिचर्डसनले २–२, नाथन कुल्टर–नाइल र कप्तान आरोन फिन्चले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनायो । उसका लागि ओपनर डेभिड वार्नरले १०७ रन बनाए । उनले ११ चौका र एक छक्काको मद्दतमा १११ बलमा १०७ रन बनाएका हुन् ।

 

यस्तै, कप्तान आरोन फिन्चले ८४ बलमा ८२ रनको योगदान दिए । पहिलो विकेटका लागि उनी र वार्नरबीच १४६ रनको साझेदारी भएको थियो । यस्तै, शन र्मास २३, ग्लेन म्याक्सवेल, एलेक्स केरी २०–२०, उश्मान ख्वाजा १८, स्टिभ स्मिथ १० रनमा आउट भए ।

 

बलिङमा पाकिस्तानका मोहम्मद आमिरले घातक बलिङ गरे । उनले १० ओभरमा २ मेडनसहित ३० रन दिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै शाहीन शाह अफ्रिदीले २, हसन अलि, वाहब रियाज र मोहम्मद अफिजले एक–एक विकेट हात पारे । जीतसँगै अष्ट्रेलिया ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाकिस्तान भने ३ अंकका साथ तालिकाको आठौं स्थानमा छ । 

अष्ट्रेलिया भर्सेस पाकिस्तान विश्वकप क्रिकेट

विशेष