यो सरकारलाई आफ्नै दम्भले सिध्याउँछ (भिडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा रहेका बेला नेपालमा भने पश्चिमा प्रभाव सम्बन्धी बहस चुलिएको छ । नेपालको राजनीतिमा अमेरिका लगायत युरोपियन यूनियन (ईयू)ले जबरजस्त हस्तक्षेप गर्न खोजेको र यसले भारत तथा चीनलाई समेत असुरक्षित बनाउन थालेको विश्लेषण गरिएको छ ।
पत्रकार तथा विश्लेषक गोपाल झाका अनुसार पश्चिमा गतिविधि नेपालका लागि मात्र होइन भारत र चीनका लागि पनि घातका छन् । मुख्यतः तिब्बतको एजेण्डालाई उछाल्न पश्चिमा शक्तिहरु सक्रिय भएको पाइन्छ । अझ धर्म परिवर्तनको अभियानले चीन र भारत दुवैलाई झस्काएको छ । यो काम पनि पश्चिमाहरु गरिरहेका छन् ।
नेपालको राजनीतिमा भारत र चीनको पनि चासो छ । तर, उनीहरुको भन्दा वर्तमान सरकारमाथि पश्चिमा प्रभाव बढी देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको पटक–पटकको युरोप भ्रमण, होली वाइन प्रकरण, विवादास्पद धर्म प्रचार अभियानमा लागेको विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि, इण्डो प्यासिफिकमा साभेदारी आदि उदाहरणले प्रधानमन्त्रीमा पश्चिम मोह रहेको देखिन्छ ।
तर, यति भन्दैमा यो सरकार पश्चिमाहरु वा अरु कुनै विदेशीबाट संचालित छ भनेर भन्न मिल्दैन । भारत, चीन, अमेरिका होस वा अरु कुनै मुलुक जो भएपनि सरकारले ट्याकल गर्ने क्षमता राख्नुपर्छ । मुलुक र जनता नै पहिलो प्राथमिकतामा रहने भएकाले जे निर्णय हो, आफै गर्नुपर्छ ।
पश्चिमा राष्ट्रहरुको खेलबारे भारत र चीन पूर्ण जानकार रहेको र यो मामिलामा उनीहरु एकसाथ रहेको विश्लेषक झाको दावी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘केमेष्ट्री’ मिल्ने र अझ पश्चिमाहरुले आफूहरुविरुद्ध चालेका कदमका बारेमा उनीहरुबीच सल्लाहसमेत भैरहेको उनको विश्लेषण छ ।
दुवै मुलुकले नेपालमा ‘स्थायित्व’ चाहेकाले उनीहरुले नेपालमा अस्थिरता ल्याउने कुनैपनि काम गर्न नसक्ने झा बताउँछन् । हिजोका दिनमा पनि भारत र चीनले नेपालको अहितमा काम गरेनन्, भोलि पनि गर्न सक्दैनन् । हामीले आफनो कुटनीतिलाई अलि बलियो र चनाखो बनाउनु पर्दछ ।
नेपाल सन्दर्भमा बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकीकृत भइ हालै बनेको समाजवादी पार्टी, नेपालको एजेण्डा पश्चिमाहरुको हो कि भन्ने लाग्छ । हो, पक्कै पनि जातीय राज्य बनाउने एजेण्डा पश्चिमाहरुकै हो । तर, अब पश्चिमाहरुले चाहे जस्तो अवस्थामा उपेन्द्र र बाबुराम पनि चल्न सक्ने अवस्थामा छैनन् ।
बाबुराम र उपेन्द्रको पार्टीमा स्पष्ट दुई धार देखिएकाले कुनैपनि बेला संकट आउनसक्ने झाको दावी छ । उनी भन्छन्, ‘सत्तापक्षीय भएर बस्नु पर्दा बाबुराममा पीडा छ । ’
सरकार चलाइरहेको नेकपामा पनि विभाजनको स्पष्ट संकेत देखिएको छ । दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल चरम महत्वाकांक्षी नेता भएकाले उनीहरु लामो समयसम्म एउटै कुर्सीमा बस्न सक्ने छैनन् ।
प्रधानमन्त्री ओलीको अढाइ बर्षे कार्यकाल पूरा भए लगत्तै प्रचण्डले अप्ठ्यारो सृजना गर्ने र त्यो कुरा नमाने प्रचण्डले जस्तोसुकै निर्णय पनि लिन सक्ने झाको बुझाइ छ ।
वर्तमान सरकार र सत्तारुढ दल नेकपामा दुई तिहाइको दम्भ दिनप्रतिदिन बढ्दै जानु मुलुककै लागि दुर्भाग्य भएको छ । यो सरकारले आज जतिपनि काम अघि बढाएको छ, सबै विवादमा परेका छन् ।
एउटा यस्तो विधेयक छैन, जो विवादमा नपरेको होस । यो सबै आवश्यक गृहकार्य नगरेकाले भएको हो । सरोकारवाला पक्षसंग छलफल नै नगरी यो ढंगले काम गरेपछि विरोध हुँदैन ? यो सबै दम्भ हो । दम्भले अन्त्यमा आफैलाई खान्छ ।
">