कभर स्टोरी Technology

पहुँचवालाहरुको प्रभावमा दुरुपयोग हुँदैछ विद्युतीय कारोबार ऐन 

पहुँचवालाहरुको प्रभावमा दुरुपयोग हुँदैछ विद्युतीय कारोबार ऐन 

पब्लिक न्युज एजेन्सी, काठमाडौं । पहुँचवालाहरु र शक्तिशालीहरुले मन नपरेकाहरुको हुर्मत लिन प्रहरीको सहयोगमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐनको दुरुपयोग हुने क्रम बढ्न थालेको छ । 

 

पुहँच पुर्‍याउन सक्ने हो भने प्रहरीले फेसबुकमा एक लाइक गर्नेहरुविरुद्ध पनि मुद्दा दर्ता गरिदिन्छ । पहुँच नुहने सर्वसाधारणहरुको उजुरीसमेत प्रहरीले लिन मान्दैन । 

 

साइबर अपराधको अभियोगमा भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरि कुट्दै, पछाडि हत्कडी लगाएर, पब्लिक बसको अन्तिम सिटमा लडाएर, पिसाबसमेत फेर्न नदिइ काठमाडौं ल्यायो । 

 

पत्रकारको उजुरीमा पक्राउ परेका शाहीको केसमा प्रहरीले कुटपिट नगरेको दावी गरेको छ भने शाही स्वयंले भने प्रहरीले करिब २० मिनेट कुटपिट गरेको उल्लेख गरे । उनका ढाडमा कुटपिटका सुम्लाहरु देखिए । जसका कारण शाहीको दावी र प्रहरीको प्रष्टिकरणबीच  तालमेल देखिएन । 

 

चलचित्र ‘वीर विक्रम –२’ को भिडियो समीक्षा गर्दा युट्युबर प्रनेश गौतम पक्राउ परे । उनीविरुद्ध चलचित्रका निर्देशक मिलन चाम्सले उजुरी दिएका थिए । केही मिडियासाथ दलबल लिएर गएका चाम्सको उजुरीकै आधारमा प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । 

 

प्रदेशको पक्षमा जनमत बढ्दै गएपछि प्रहरी पनि दबाबमा पर्‍यो । उजुरीकर्ता निर्देशक चाम्सले आफ्नो कुरा सच्याउँदै साइबर अपराधको नभएर गालीबेइज्जतीविरुद्ध उजुरी दिएको उल्लेख गरे । 

 

२०७५ कात्तिकमा प्रहरीमा प्रभाव जमाएर ओशो तपोवनका संस्थापक अरुणकुमार सिंह उर्फ आनन्द अरुणले एक महिलामार्फत उनका आलोचक अर्जुनकुमार पाण्डे र शिव ढकाललाई पक्राउ गराए । 

 

स्वामी आनन्द अरुण भनेर चिनिने अरुणकुमार सिंहले एक महिलालाई आफ्नो खुट्टा मसाज गर्न लगाएको तस्बीर ढकालले सार्वजनिक गरे । त्यो फोटोमा अर्जुनकुमार पाण्डेले पनि एक लाइक गरेका थिए । त्यस्तो लाइक गर्ने पाण्डेबाहेक अरु ११० जना थिए । तर ऐनको यसरी दुरुपयोग गरियो कि पाण्डेलाई मात्र त्यही एक लाइकको अभियोगमा ९ दिन प्रहरी हिरासतमा राखेर साइबर क्राइम लगाइयो । जसको तारिख उनी अझै धाउँदै छन् । 

 

शक्तिशाली उच्च पदस्थ व्यक्तिहरुका बारेमा कुनै नकारात्मक टिप्पणी गर्नेहरुविरुद्ध पनि प्रहरीले साइबर अपराधको मुद्दा चलाएको छ । ती मध्ये केही घटना स्वाभाविक पनि लाग्छन् । 

 

काभ्रेका एक वडा सचिव होमनाथ सिग्देल, कागेश्वरीका हरिप्रसाद मानन्धर, मेलम्चीका मावि शिक्षक ईश्वरकुमार चौलागाई, बिजुलीबजार काठमाडौंका लालबहादुर तामाङहरु पनि पछिल्लो समयका चर्चित पात्रहरु हुन् । यि सबैले प्रधानमन्त्री, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत उच्च पदस्थका बारेमा फेसबुकमा अशोभनीय सामाग्री पोस्ट गरेका थिए । 

 

विद्युतीय कारोबार ऐन जस्ता प्रकृतिका अपराध नियन्त्रणका लागि भनेर लागू गरिएको थियो, त्यो विपरीत अहिले मन नपरेकाहरुलाई तह लगाउने राज्यको डण्डाको रुपमा प्रयोग भइरहेको अधिवक्ता सुरेन्द्र भण्डारी बताउँछन् । भण्डारी भन्छन्, ‘मिडियामा बोलेको कुरालाई समेत साइबर अपराध मानेर मुद्दा दर्ता गर्न सकिन्छ, यदि उजुरीकर्ता शक्तिशाली छ भने । राज्यले र शक्तिशालीहरुले मन नपरेकाहरुलाई ठेगान लगाउन यो ऐनको दुरुपयोग गरिएको छ ।’

 

सामाजिक सञ्जालमा अशोभनीय सामाग्री पोस्ट गर्ने धेरै हुन्छन् । कतिपय केसमा प्रहरीले उजुरी नै लिन मान्दैन । एक धार्मिक संस्थामा आवद्ध एक  महिला पदाधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदाको बखत मन्दिर परिसरमा आफूसँग संयोगले एकै फ्रेममा परेको तस्बीर फेसबुकमा सेयर गरिन् । त्यो फोटो कपि गरेर अर्को एक ‘म नेपाल कान्छो’ नामक फेसबुक प्रयोगकर्ताले आफ्नो पोस्ट गर्दै एक स्टाटस लेखे  । स्टाटसमा थियो, ‘यो आइमाइ ****** हो । यो केपी ओलीको पनि ******  हो ।’ 

 

त्यो पोस्टको हार्डकपी, सफ्टकपी बोकेर ती महिला अपराध महाशाखा टेकु पुगिन् तर प्रहरीले उजुरी दर्ता गर्न मानेन । एउटा कोठाबाट अर्को कोठा, अर्को कोठाबाट अर्को कोठा गर्दै उनलाई तीन घण्टा चक्कर काट्न लगाइयो । उनी दिक्क भएर फर्किन् । 

 

पब्लिक न्युज एजेन्सीसँग उनले भनिन्, ‘पहिले नै भनसुन गरेर गएको भए हुन्थ्यो होला । त्यसै जाँदा भएन । नेपालमा यस्तै त हो ।’

 

नेपाल प्रहरी भने कानुनको समान कार्यान्वयनकालागि प्रतिबद्ध रहेको दावी गर्छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोख्रेल भन्छन्, ‘प्रहरीले उजुरी लिएर आउने सबैको सम्बन्धमा समान व्यवहार गर्छ । कुनै प्रहरीले कुनै घटना र प्रशंगमा असमान व्यवहार गरेको छ भने त्यो विषयमा नेपाल प्रहरीले एक्सन पनि लिन्छ ।’ 

 

(यो सामाग्री पब्लिक न्युज एजेन्सीबाट लिइएको हो ।)
 

विशेष