संस्कृत पाठशालामा सरकार र संसदको अभ्यास
हरि न्यौपाने ।
जयतु संस्कृतम् । निरंकुश राणाशासन विरुद्धको पहिलो औपचारिक आन्दोलन । हुन त यो शिक्षा सुधारका लागि गरिएको सत्प्रयास थियो तर अन्तर्यमा यो निरंकुश राणाशासन ढाल्ने पहिले हुँंकार बन्नपुग्यो । १ सय ४ वर्षे राणा शासनले जकडिएको मुलुकमा २००४ साल देखि नै राजनीतिक अभ्यासका आधारहरु खोजिँदै थिए ।
१९४२ मा वीरशम्सेरले निःशुल्क खाने बस्ने व्यवस्थासहित संस्कृत अध्ययनका लागि राखेको तीनधारा पाठशालाका विद्यार्थीहरुले २००४ साल जेठ १५ गते संस्कृत विभाग र राणा शासकमा विन्तिपत्र हाले । इतिहास, भूगोल र अंग्रेजी भाषा पढ्न पाउनुपर्ने, ती विषय पढाउन शिक्षक नियुक्ति हुनुपर्ने, मध्यमासम्मका परीक्षा दिन बनारस जानुपर्ने भएकाले परीक्षा नेपालमै दिन पाउनुपर्ने र छुट्टै संस्कृत महाविद्यालय स्थापना गर्नुपर्ने ४ मुख्य माग राखिएका थिए । जुन माग पूरा गर्न १५ दिन अल्टिमेटम दिइएको थियो ।
माग पूरा नभएपछि २००४ साल असार १ गते विद्यार्थीहरुले आन्दोलन सुरु गरे । जयतु संस्कृतम्का सदस्य सचिव एवं वाल्मिीक विद्यापीठका सह–प्रा. डा. नवराज कट्टेल भन्छन्–‘२९ जना विद्यार्थीहरुलाई असार १ गते पक्राउ गरिएको थियो । तर ब्राह्मण भएकाले पक्राउ गरेको राती नै छाडिएको रहेछ ।’ तर त्यसपछि पनि विद्यार्थीहरुले आन्दोलन छाडेनन् ।
२००४ मंसिर २२ गते परीक्षा नै बहिष्कार गरेको तथा आन्दोलन नछाडेको भन्दै ३८ जना विद्यार्थीहरुलाई चारपाटा मुडेर डाँडो कटाईयो । तीनै विद्यार्थीहरु पछि नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालासँग सम्पर्कमा रही प्रजातान्त्रिक अभ्यासमा सक्रिए रहे । डाँडो अर्थात् काडमाडौँ कटाइएपछि उनै विद्यार्थीहरु नुवाकोट, धादिङ, गोरखा, लमजुङ, वागलुङ, कास्की, पाल्पा हुँदै बनारस पुगेका थिए । त्यसरी जाने क्रममा पश्चिमका अधिकांश जिल्लामा प्रजातन्त्रको झिल्को बाल्दै गए ।
२००७ सालको आन्दोलनमा ती विद्यार्थीहरुले नै आ–आफ्नो जन्मस्थानका जिल्लामा आन्दोलनको मोर्चा सम्हालेका थिए । यसरी जहानियाँ शासनका बेलामा आन्दोलनको बिजारोपण गर्ने लिडरहरु भने श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, पूर्णप्रसाद ब्राह्मण, अच्यूतराज रेग्मी र राजेश्वर देवकोटा थिए । तत्कालीन जहानियाँ राणा शासकलाई आफू विरुद्धका आवाज मन पर्ने कुरै रहेन ।
तीनधारा संस्कृत छात्रावासमा खान बस्न नपाउने तथा अन्य कुनै पनि सरकारी विद्यालयमा पढ्न नपाउने नियम सहित उनीहरुलाई छोडियो । त्यसबेलाका आन्दोलनकारी मध्येका एक वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाले केही वर्ष पहिले यस लेखकसँग जयतु संस्कृतम् आन्दोलनको स्मरण गर्दै भनेका थिए–‘‘ तपाईहलाई पत्याउन अप्ठ्यारो लाग्ला सामाजिक शिक्षा, अंग्रेजी, अर्थशास्त्र जस्ता विषय पढ्नबाट हामी वञ्चित थियौँ ।
तिनै विषय पढ्न पाउनुपर्ने माग गरेर हामीले आन्दोलन थालेका थियौँ । ’ शैक्षिक सुधारको मागसहित सुरु भएको त्यही आन्दोलन जयतु संस्कृतम्का नामले चिनिन्छ । जुन त्यसबेलाको राजनीतिक परिवर्तनको मुख्य मियो नै बन्न पुग्यो । त्यसपछिका हरेक राजनीतिक घटनाक्रममा तीनधारामा बसेका विद्यार्थीहरुको भूमिका महत्वपूर्ण मात्र रहेको छैन अहिले मुलुकले अभ्यास गरेको संसदीय पद्धतिका सारा व्यवस्था त्यहाँ व्यावहारिक रुपमै हुन्छ । त्यसैले पनि हरेक वर्ष असार १ गते अद्यापि जयतु संस्कृतम्को सम्झना -याली निकालेर विविधि कार्यक्रम गरिन्छ ।
संस्कृत छात्रसंघ बन्द भएपछि नेबिसंघ, अखिले खुले
अहिलेका राजनीतिक दलले गरेको अभ्यास तीनधारा पाठशालामा त्यसबेलै गरिएको थियो । देशमा प्रजातन्त्रको सूत्रपात गराउन संस्कृत शिक्षा अध्ययन गरेकाको भूमिका उल्लेखनीय थियो । संस्कृत शिक्षाका शिक्षार्थीहरुले संस्कृत छात्र संघ नामक संस्था खोलेका थिए । २००७ सालमा यही संघ आबद्ध विद्यार्थीहरुकै मुख्य भूमिका थियो ।
यही छात्र कार्य संघको अगुवाईमा जयतु संस्कृतम् आन्दोलन बढेको थियो । यसको नेटवर्क देशभर फैलदै गयो । २०२१ सालमा तात्कालीन सरकारले प्रतिबन्ध लगाउँदा संघका सभापति डा. बासुदेव त्रिपाठी थिए । तीनधारा पाठशालका पूर्व विद्यार्थी एवं जयतु संस्कृतमका सदस्यसचिव कट्टेल भन्छन् – ‘संस्कृत छात्र संघको ५०÷५५ जिल्लामा शाखा गठन गरिएको थियो । त्यसबेला देशभर २३३ जति पाठशाला थिए ।
सबै पाठशालाबाट चुनिएर आउनेले संघ चलाउने हुँदा संघ संसद्को भूमिकामा थियो ।’ यो जति नेटवर्क भएको अन्य संस्था थिएन । उनी थप्छन : ‘अनेरास्ववियु, नेविसंघ यही संघ बन्द गरिएपछि खुलेका थिए ।’ हालको प्रजातान्त्रिक पद्धतिको सुत्रपात संस्कृत पाठशालाबाटै भएको हो । छात्र कार्य संघको साथमा तीनधारा पाठशालाभित्र छात्र कार्य समिति पनि थियो । छात्र कार्य संघले देशभरको प्रतिनिधित्व गथ्र्यो भने समितिले तीनधाराको मात्र । छात्र कार्य संघ बन्द पश्चात् तीनधाराभित्र छात्र कार्य समितिले यसको भूमिका निभाउँदै गयो ।
प्रजातन्त्र पद्धति हो, संस्कार हो । विधिसम्मत चलाइने अभ्यास हो । यसको सूत्रपात तीनधारा संस्कृत पाठशालाबाटै भएको थियो । यहीँबाट अभ्यस्त प्रशिक्षित विद्यार्थीहरु मुुलुकका मुख्य राजनीतिक पददेखि मन्त्री सचिव लगायत महत्वपूर्ण भूमिकामा आफूलाई अब्बल साबित गरेका थिए र छन पनि ।
संस्कृत पाठशालाका पूर्व विद्यार्थी एवं हाल पाठशालामा सुपरीवेक्षक रहेका अर्जुनबाबु दाहाल भन्छन : ‘७५ जिल्लामा ४४ बढी सिडियो त यहीँ पढेका विद्यार्थी हुन्थे । राजनीतिक संस्कारको बिजारोपण यही बाट भएको विभिन्न घटनाक्रममले पनि पुष्टि गरेका छन ।’ तीनधारा संस्कृत पाठशालामा बसेर अध्ययन गरेकाहरु विश्वप्रसिद्ध हार्बर्ड विश्वविद्यालयदेखि राजनीति, कुटनीति, प्रशासन लागयत सबै क्षेत्रमा आफूलाई अब्बल साबित गरेका थिए ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे, कविशिरोमणि लेखनाथ पौड्याल, पूर्वमन्त्री नरहरि आचार्य, पूर्वमन्त्री चिरञ्जिवी वाग्ले, सिद्धराज ओझा, कुटनीतिज्ञ जयराज आचार्य, पत्रकार पुरुषोत्तम दाहाल, राजेन्द्र दाहाल लगायतले यसै स्थानमा बसेर अध्ययन गरेका थिए । यहाँ बसेका केही व्यक्तिहरु हाल विदेशमा प्राध्यापनमा छन् । केशव भट्टराई हाल बेलायतमा प्राध्यापनरत छन भने थानेश्वर तिमल्सिना हाल साउथ वेष्ट्रन यूनिभर्सिटी अमेरीकामा प्राध्यापनरत छन् त्यस्तै दिवाकर आचार्य हाबर्ड युनिभर्सिटीमा पूर्वीय दर्शन प्राध्यापन गराउँछन् । पूर्व सचिव कृष्ण ज्ञवाली, मधुरमण आचार्य पनि यहीँका उत्पादन हुन् ।
पाठशालामा संसदीय अभ्यास
तीनधारा पाठशाला सञ्चालन व्यवस्थित गर्नका लागि विधान परिषद् गठन गरिएको थियो । विधान परिषद् संसद्को झैं मुख्य भूमिका रहन्थ्यो । प्रकाश, हिमाञ्चल, गोर्खाली र पण्डित टोलबाट छानिएर आउनुपथ्र्यो । अर्थात यी टोलबाट चुनिएर आउने चार जनाले नै छात्र कार्य समितिमा सभापतिको भूमिका प्रधानमन्त्रीदेखि मन्त्री खानेसम्मका कारणले यसमा चुनावमा झैं भोट माग्ने चलन थियो ।
अलि बढी क्रियाशील, जुझारु व्यक्तिहरु यसमा चुनिएर आउथे । विधान परिषद् १७ जनाको रहन्थ्यो । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र अरु सदस्य रहन्थे । विधान परिषद्को मिटिङ एक महिनामा एक पटक अनिवार्य बस्नुपथ्र्यो । अन्य भने आवश्यकता अनुसार बस्न सक्थ्यो । विधान परिषद्ले पारित गरेका नियम, कार्यसूचीका आधारमा छात्र कार्य समितिले काम गथ्र्यो ।
छात्राबासमा लामो समय बसेर अहिले नेपाली कांग्रेसबाट सांसद् बनेका बद्री पाण्डे भन्छन् – ‘विधान परिषद्लाई एक हिसाबले हेर्दा विधान परिषद् संसद्को भूमिका थियो भने छात्र कार्य समिति मन्त्रिपरिषद्को भूमिकामा रहन्थ्यो । खासगरी भ्रष्टाचारका मुद्दा विधान परिषद्मा बढी पुग्थे । तर भ्रष्टाचार गर्नेलाई तेब्बर तिराउने नियम थियो । ’
शक्तिशाली सरकार गठन
छात्रावासभित्र नियमित कार्य सञ्चालन÷व्यवस्थापनका लागि एक समिति थियो । जसलाई छात्र कार्य समिति भनिन्थ्यो । सभापति, ४ जना मन्त्री र बाँकी सदस्य गरी समितिमा ७ जना रहने व्यवस्था थियो । छात्रबासभित्र गर्ने सबै कार्यहरु छात्र कार्य समितिको मातहत हुने गर्थे । छात्र कार्य समिति मन्त्रिपरिषद्को रुपमा थियो । सभापति प्रधानमन्त्रीको जत्तिकै अधिकारमा रहन्थे । सभापतिले गरेको निर्णय पालना अनिवार्य थियो । छात्र कार्य समितिभित्र ७ जना रहन्थे । अन्य ४ जना मन्त्रीमा नियुक्त हुन्थे । त्यसमा सञ्चार, खाद्य, खेलकुद र शिक्षा मन्त्री थिए ।
पावरफूल खाद्यमन्त्री
सामान्यता सबै मन्त्रीका जिम्मेवारी उत्तिकै महत्वपूर्ण थिए । सबैले तोकिएका काम जिम्मेवारी पूरा गर्नुपथ्र्यो । तर खाद्यमन्त्री बन्न अलि बढी हानथाप हुन्थ्यो । हुन पनि खाद्यमन्त्रीमा तरकारी व्यवस्थापन, भान्छाको सरसफाई लगायतका कार्य हुन्थे । यसका लागि तरकारी केलाउने डोलेलाई लिएर हरेक विद्यार्थी खाद्यमन्त्रीको अनुमतिले आलोपालो प्रणालीमा तरकारी बजार जान्थे र तरकारी किनेर ल्याउँथे । खाना खानका लागि निश्चित समय तोकिएको हुन्थ्यो । निर्धारित समयभित्रै खाना खाइसक्नुपर्ने नियम थियो । निर्धारित समयमा खाना खानका लागि उपस्थित हुन नसके खाद्यमन्त्रीलाई सूचित गरेपछि मात्र खाना राखिदिने चलन थियो भने यदि घण्टी लाग्नुअगावै खाएर निस्किनुपर्ने हो भने खाद्यमन्त्रीको अनुमति अनिवार्य चाहिन्थ्यो ।
सञ्चारमन्त्री
सञ्चारमन्त्रीको काम पत्रपत्रिका व्यवस्थापनको थियो । सञ्चारमन्त्रीले पत्रपत्रिका व्यवस्थापनको काम गर्नुपथ्र्यो भने खाद्य मन्त्री गृहमन्त्रीको हैसियतमा रहन्थे समग्र खानेकुराको व्यवस्थापन उसैले गर्नुपथ्र्यो । कट्टेल भन्छन् – ‘सञ्चारमन्त्रीले पत्रपत्रिका व्यवस्थापनका साथै रेडियो स्थापनापछि रेडियोमा विहान ७ बजेको र बेलुका ७ बजेको समाचार लगाउनुपर्ने नियम नै बनेको थियो । पछि टेलिभिजन आएपछि टेलिभिजनका कार्यक्रममाथिको नियन्त्रण उसैले गर्ने नियम बस्यो । ’
शिक्षामन्त्री
शैक्षिक गतिविधिका कार्य गर्नेगरी शिक्षामन्त्रीको व्यवस्था गरिएको थियो । शिक्षामन्त्रीले छात्रावासमा रहेको पुस्तकालयको व्यवस्थापन गर्ने र पढ्नका लागि वातावरण मिलाउनुपथ्र्यो । पुस्तकालयमा भएका पुस्तकहरु हरेक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म पढ्न पाइने चलन थियो । कसैले पुस्तक लगेर पढ्न पाउँथ्यो तर पुस्तक निर्धारित समयभित्रै फिर्ता नगरे उसको नाम कार्य समितिको बोर्डमा टाँसिन्थ्यो । कतिले लाजले फिर्ता गर्थे कतिले लाज पचाएर पुस्तक गायब बनाउने चलन थियो ।
खेलकुदमन्त्री
खेलकुद मन्त्रीले खेलकुदका गतिविधि सञ्चालन गर्ने गर्थे । कार्यसमितिले छात्रावासभित्रै विभिन्न खेल खेल्ने वातावरण मिलाउने गथ्र्यो । दैनिक, साप्ताहिक, पाक्षिक रुपमा खेलिने खेलका विजयीलाई उचित पुरस्कार, मेडलको व्यवस्था हुन्थ्यो ।
छात्र कार्य समिति
छात्रावासमा बस्ने विद्यार्थीहरुलाई व्यवस्थित गर्न छात्र कार्य समिति नामक संस्था थियो । संस्थामा छानिन हरेक टोलबाट चुनिनुपथ्र्यो । छात्रावासमा ४ टोल थिए । विद्यार्थीहरु बस्ने मुख्य ठाउँलाई चार भागमा गरिएको विभाजन अनुसार प्रकाश टोल, पण्डित टोल, हिमाञ्चल र गोर्खाली टोल भनी नामाकरण गरिएको थियो ।
छात्राबासमा लामो समय बसेर हाल वाल्मिकी विद्यापीठमा प्राध्यापनरत केशव कोइराला भन्छन : ‘प्रकाश टोल सडकसंगै जोडिएको र विहानको सुर्योदयको झुल्को आउने हुँदा बढी प्रकाश आउने भएपछि प्रकाश टोल भनी नामाकरण गरिएको थियो । पण्डित्याई गर्नेहरु अलि बढी बस्ने स्थानलाई पण्डित टोल भनिन्थ्यो । सुदुर र पहाडका बस्नेलाई हिमाञ्चल र गोर्खा लगायतका बस्ने भएर गोर्खाली टोल भनिएको अनुमान छ । त्यसमा बस्नलाई निकट वा बन्धुबान्धवको भूमिका मुख्य हुनाले उल्लेखित दायरा हुनैपर्ने प्रावधानचाहि“ अनिवार्य थिएन । ’
यिनै चार टोलबाट हरेकका ४ जनाका दरले विधान परिषद्मा चुनिएर आउँथे । विधान परिषद्बाट छात्र कार्य समितिको निर्माण गरिन्थ्यो ।
तरकारी र खाद्यान्नको बिल मिलाउने चटारो
१ सय ६ जनामध्ये रोलक्रममा तरकारी किन्न जाने चलन थियो । तरकारी बोक्न कर्मचारी हुन्थे । के कस्तो तरकारी खुवाउने भन्ने विषय तरकारी किन्नेमा निर्भर रहने हु“दा तरकारी किन्ने प्रसंग ज्यादै रोचक थियो । १ सय ६ जनाबाट पाँच रुपैयाँका दरले उठ्ने रकमको तरकारी किन्न जाने चलन थियो । विहान साँढे ५ बजे तरकारी किन्न असन पुगेर तरकारी ल्याउनुपथ्र्यो ।
कसैले सबै रकमको तरकारी किनेर ल्याउँथे भने कसैले केही तरकारी किनेर बांकी रकम झ्वाम पार्थे । तर तरकारी किनेको हिसाब सार्वजनिक गर्नुपर्ने भएकाले बिल मिलाउन चलखेल जानेकै हुनुपर्ने नियम थियो ।
तरकारीमा गुन्द्रुक पूर्णतः बन्देज थियो । मासु त हुने कुरै भएन । भ्रष्टाचार गर्न चाहनेले सस्तोमा धेरै आउने तरकारी खरिद गरी बढी रुपैयाँमा खरिद गरेको बताउँथे ।
नीतिगत भ्रष्टाचारको आधार : चाउचाउ र बिस्कुट
मन्त्रिपरिषद्को कार्यानुरुप हुने छात्र कार्य समिति पावरफूल संस्था थियो । भान्छामा हुने सबै खाद्यान्नको व्यवस्थापन मिलाउने मुख्य जिम्मा विभागीय मन्त्री अर्थात् खाद्यमन्त्रीको हुन्थ्यो । विहान ९ बजेदेखि ९ः३० भित्र र साँझ ६ देखि ६ः३० भित्र खाना खाइसक्नुपर्ने नियम थियो । खाना खानका लागि विहान ९ बजे बेलुका ६ बजे घण्टी लगाइन्थ्यो ।
यदि निर्धारित समयमैं कसैले खाना नखाएमा उसले खाना पाउन मुस्किल पथ्र्यो । खाना खानका लागि धोती अनिवार्य थियो । पेटी गन्जीमा धोती बेरेर पिर्कामा बसी औसनी हालेपश्चाद् खाना खान दिने नियम थियो । खाना पकाउने उपाध्याय ब्राह्मणले धोती फेरेर खाना पकाउनुपथ्र्यो । भान्छामा अन्यलाई प्रवेश निषेध थियो ।
यदि नियमभित्रै खाना नखुवाए वा खानाको व्यवस्थापन हुन सकेन भने छात्र कार्य समिति मुख्यतः खाद्यमन्त्री र सभापति नै जिम्मेवार हुन्थे । यस हिसाबले उनीहरु पावरफूल मानिएको हो । तर यी कार्य सरल रुपमा नहुने अवस्थामा नीतिगत भ्रष्टाचारको प्रारुप तय हुन्थ्यो । किनभने ठेकेदारले तोकिएको दरको चामल ढुवानी नगरे कारबाही गर्ने अधिकार छात्र कार्य समितिले राख्थ्यो ।
नाम नबताउने सर्तमा छात्रवासका एक पूर्व सभापति भन्छन् – ‘विद्यार्थीहरुलाई ठेकेदारले तोकिएको गुणस्तरको चामल ढुवानी गर्नुपथ्र्यो र खुवाउनुपथ्र्यो । तर यो सम्भव थिएन । बाहिरी बनावट एउटा, भित्री स्वरुप अर्कै हुन्थ्यो । यस्तैमा ठेकेदारसँगको मिलेमतो लेनदेन मिलाउन पनि केही पैसाको अपेक्षासहित यस्तो कार्य गरिन्थ्यो । ’ यसैलाई हामी अहिले नीतिगत भ्रष्टाचारको स्वरुप दिन पनि सक्छौँ ।
यस्तो नीतिगत भ्रष्टाचारमा कुरा मिले ठीक छ नमिलेमा छात्रावासमा चामल, दाल, तेल लगायत भान्छाको व्यवस्थापन गर्ने ठेकेदारलाई चामल, तरकारी लागयतका व्यवस्थापनकलाई लिएर विद्यार्थीहरुले निहुँ खोज्ने, खोज्न लगाउने र अन्य विद्यार्थीलाई निर्धारित समयमा खना नखुवाइएको निहुँमा चाउचाउ र बिस्कोट किन्न लगाएर खुवाउनुपर्ने अवस्था थियो ।
अन्यथा कार्य समितिले कारबाही गर्न सक्थ्यो । त्यसैले ठेक्का लिएकाले तत्काल कोकोनट र वाइवाई चाउचाउ लिएर आइपुगिहाल्थे । नियम यति कठोर थियो कि खाने चामलमा किरा परे तरकारीमा किरा परेको पत्तो लागे सबै फालेर पुनः पकाउनुपथ्र्यो ।
के भन्छन् मन्त्री बनेकाहरु : केही चर्चित अनुहारहरुको अनुभव
बद्री पाण्डे , हाल राष्ट्रिय सभा सांसद्, नेपाली कांग्रेस
म २०४४ देखि ५४ सम्म १० वर्ष छात्रावासमा बसेँ । छात्र कार्य समितिको सभापतिदेखि खेलकुद, खाद्य मन्त्री बने“ । मेरै पालादेखि खेलकुदका सामग्री राख्ने गरी छुट्टै कोठा राखियो । राजनीतिक प्रशिक्ष्ँण वा पुर्वाभ्यास त्यहीँबाट भएको मेरो बुझाई छ । मेरो विचारमा अहिले पनि हामी जसरी जनताबाट चुनिएर आउँछौँ त्यसबेला पनि नियम यस्तै थियो । ४ टोलबाट ४ जना चुनिएर आउने गरिन्थ्यो । उसको कार्यकाल ६ महिनाको हुन्थ्यो ।
छात्र कार्य समितिको सभापति चाहिँ साधारण सभाले चुन्थ्यो । १७ जनाको विधान परिषद् यसरी बनेको हो । मैले छात्र कार्य समितिलाई मन्त्रिपरिषद् मानेको छु किनकी त्यो कार्य समितिले त्यहां सबै कार्य सञ्चालन गर्ने गथ्र्यो । विधान परिषद्चाहिं संसद्को अभ्यास हो । संसद्ले सरकारलाई नियन्त्रण गरेजस्तै विधान परिषद्ले छात्र कार्य समितिलाई अवाञ्छित हुनबाट रोक्थ्यो । मन्त्री हुनु पनि सानकै विषय थियो ।
यसरी चुनिने छात्र कार्य समितिको म्याद तीन महिनाको हुन्थ्यो भने विधान परिषद् ६ महिनाको हुन्थ्यो । चुनिएर आउन चाहनेले हाल नेताले भोट मागेजस्तै आफ्ना टोलभित्र मत माग्ने एजेण्डा राख्ने गर्नुपथ्र्यो । अहिले प्रधानमन्त्री शक्तिशाली भएजस्तै कार्य समितिका सभापति पनि शक्तिशाली हुन्थे । मन्त्री पद टोलअनुसार बार्गेनिङमा चलाइन्थ्यो । यसमा कार्य समितिका सभापतिको तजबिजीलाई पनि हेरिन्थ्यो । विधान परिषद्को म्याद ६ महिनामा सकिएपछि सम्पूर्ण छात्रावासलाई नै सिंगो नेपाल मानेर राष्ट्रिय चुनावझैँ विधान परिषद्को गठन गरिन्थ्यो ।
डा. नवराज लम्साल वरिष्ठ सञ्चारकर्मी, गीतकार
म छात्रावासमा लामो समय बसेँ । ४५ सालतिर हुनुपर्छ म सभापति थिएँ । राजनीतिक पुर्वाभ्यास कठिन थियो । तर छात्रावासमा प्रहरीले त्यति धेरै नजर नलगाउने हु“दा हामीले राजनीतिक प्रशिक्षण लिन पाउँथ्यैँ । ४५ सालमा गणेशमान सिंहलाई डाकेर हामीले अभिनन्दन ग-यौँ । तर राजनीतिक कार्यक्रमका लागि प्रहरीले पक्राउ गर्ने भएकाले हामीले मुल गेटमा ताल्चा लगायौँ ।
छात्रावासभित्र रहेको हलमा सार्वजनिक कार्यक्रम ग-यौँ । पछि त्यही बस्नुुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पनि राखेर अभिनन्दन ग-यौ । संसदीय अभ्यासको थलो नै त्यहाँ हो । मलाई सम्झना छ गणेशमानले त्यतिबेलै अबको १ वा डेढ वर्षभित्र मुलुकमा प्रजातन्त्र पुनःबहाली हुने उद्घोष गर्नुभएको थियो । लगत्तै ४७ सालको आन्दोलन भयो । छात्रावासका धेरै साथीहरुको त्यहाँ ज्यादै उल्लेखनीय भूमिका रह्यो ।
डा. घनश्याम खतिवडा चलचित्रकर्मी
म शिक्षामन्त्री बनेको थिएँ । मेरै पालामा जयतु संस्कृतम् विशेष कार्यक्रम भएको थियो । जसमा हामीले गिरीजाप्रसाद कोइरालालाई प्रमुख अतिथिका रुपमा डाकेका थियौँ । अँ, २०४६ सालमा नेताहरु खाना खान र प्रहरी दमनबाट लुक्न त्यहाँ आउँथे । जति पनि प्रजातान्त्रिक गीत कविता त्यहीँबाट रचना गरिन्थ्यो । राजनीतिक गतिविधिका एजेण्डा देखि अन्य कार्यक्रम पनि सबै त्यही“ तय गरिन्थ्यो ।
भिन्न राजनीतिक आस्था राख्नेहरु पनि त्यहाँ अटाउ“थे । ०४७ सालम कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला त्यहाँ विशेष कार्यक्रम गरियो । त्यसको संयोजन म लगायतका साथील गरेका थियौ“ । त्यसबेला किसुनजी भन्नुहुन्थ्यो –प्रजतान्त्रको बिजारोपण यहीँबाट भएको हो । पछि राजाले मन्त्रिमण्डल गठन गर्दा त्यही“को पद्धति अपनाएको दाबी गर्नुभएको थियो । किसुनजीले त जति पनि जेल समयमा सबै त्यहाँबाट पुस्तक लगेर पढ्नुहुन्थ्यो भनेर जानकारी गराउनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो–मैले यस पुस्तकालयका सबै पुस्तक अध्ययन गरेको छु । ’
हाल के छ अवस्था ?
नियम, कानुनदेखि व्यवस्थामा पहिचान बोकेको तीनधारामा हाल यस्तो कार्यहरु लोप भैसकेको छ । २०६३ सालको राजनीतिक परिवर्तनसँगै ब्राह्मण बस्न वीर शम्सेरले खोलेको छात्रावासमा अन्य जातजातिले पनि प्रवेश पाए । विस्तारै व्यवस्था परिवर्तन भयो । हाल तीनधारामा सुपरीक्षक रहेका अर्जुनबाबु दाहाल भन्छन्– ‘म पुराना सबै व्यवस्थाको भुक्तभोगी भएपनि हाल ती व्यवस्था छैनन् । चाडपर्व मनाउने सिस्टम छ । तरकारी किन्न आलोपालोमा विद्यार्थीहरु जान्छन् तर स्कुलका मात्रै ।’
हुन त अहिले छात्रावासको सबै स्वरुपमा परिवर्तन आएको छ । छात्रावासमा छात्र मात्र बस्न पाउनेमा छात्रा राख्न थालिएको छ भने हाल १११ जनाको कोटा पुर्याइएको छ जसमा ३० जनाको कोटा क्षेत्रीय क्याम्पसबाट छ । वाल्मिकीबाट ४६ र स्कुलबाट ३५ जनाको कोटा छ । विद्यार्थीहरु पनि वर्षैँसम्म बस्न मिल्दैन जबकी पहिले पहिले कुनै एक तहमा ५५ प्रतिशत ल्याएमा अर्को तह पूरै बस्न पाउने नियम थियो ।
अब स्मरणमा मात्र
हुन त उल्लेखित व्यवस्था अब स्मरणमा मात्र छन् । जयतु संस्कृतम्को सम्झनामा मनाइने जयतु संस्कृतम् दिवस अब स्मरणीय मात्र बनेको छ भने यस क्षेत्रमा लागेकाहरुले पनि यस दिवस मनउनै पर्छ भनेर उतिसाह्रो चासो दिन्नन् । आइतबार पनि संस्कृत मावि, नेपाल वेद विद्याश्रमका विद्यार्थी, वाल्मिकी विद्यापीठका केही गुरुहरुले -याली निकालेर तीनधारामा पुगेर जयतु संस्कृतमको स्मरण गरे । संस्कृत पढेकाहरुले वास्ता नगर्ने र सम्बन्धित अधिकारीले पनि उतिसारो चासो नदिनाले यो एक औपचारिक प्रक्रियामैँ सीमित बनेको छ ।