दक्षिण एशियाली खेलकुदको अनुमानित बजेटको प्रक्षेपण
काठमाडौँ । १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताका लागि ५ अर्व २६ करोड ५७ लाख ४६ हजार बजेट लाग्ने अनुमान गरिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मूल समारोह समिति अन्तर्गतको बजेट निर्माण कार्यदलले आईतबार यस प्रतियोगिताका लागि ५ अर्व २६ करोड ५७ लाख ४२ हजार बजेट लाग्ने अनुमानित खाका प्रस्तुत गरेको हो ।
कार्यदलका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाले खेलकुद क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुसँगको छलफल पछि प्रतियोगिताका लागि लाग्ने अनुमानित बजेटको खाका तयार पारिएको जानकारी दिनु भयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले प्रतियोगितामा भाग लिने राष्ट्रहरुलाई निमन्त्रणा पठाउने काम पनि सुरु गरिएको बताउनु भयो ।
आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म सो प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । सरकारले यस अघि नै सो प्रतियोगिताको लोगो र मस्कट तयार पारी सार्वजनिक गरिसकेको छ ।