खेल

कोपा अमेरिकाः पहिलो खेलमै मेस्सीको अर्जेन्टिना पराजित

कोपा अमेरिकाः पहिलो खेलमै मेस्सीको अर्जेन्टिना पराजित

काठमाडौं । कोपा अमेरिका २०१९ मा लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना पहिलो खेलमै पराजित भएको छ । समूह चरण अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो । खेलको ७० औँ मिनेटसम्म गोल नगरे पनि गोल पनि नखाएको अर्जेन्टिनाका लागि त्यसपछिको समय सहज भएन ।

 

७१ औँ मिनेटमा रोजर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए । ८६ औँ मिनेटमा डुवन जापाताले गोल गर्दै अग्रता दोब्बर पारेपछि कोलम्बियाको २–० को जित निश्चित भयो । विश्वका उत्कृष्ट खेलाडीहरु मेस्सी तथा सर्जियो अग्युरोसहितको टिम रहे पनि अर्जेन्टिनाले सुरुवात राम्रो गर्न सकेन ।


 
कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् । जापान र कतार आमन्त्रित टिम हुन् । यसैबिच समूह ए अन्तर्गत आइतबार बिहानै भएको अर्को खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेलेका थिए ।

कोपा अमेरिका अर्जेन्टिना कोलम्बिया

विशेष