राष्ट्रिय सभामा गुठी विधेयककै बहस
काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभामा पनि गुठी विधेयकबारे सांसदहरु बहसमा उत्रिए । सत्तापक्षका सांसदले गुठीसम्बन्धी विधेयकका कमीकमजोरी सच्याएर अघि विधेयक अघि बढाउनुपर्ने धारणा राखे भने प्रतिपक्षी दलका सांसदले गुठी विधेयक धर्म संस्कृति विरोधी भएकाले यसलाई फिर्ता लिन माग गरे ।
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद बद्रीप्रसाद पाण्डेले गुठी विधेयक प्रस्तुत हुँदादेखि नै नेपाली कांङ्ग्रेसले विरोध गर्दै आएको बताउनुभयो । गुठी प्राधिकरणमा राजनीतिक नियुक्ति गर्दा संस्कृतिमाथि आक्रमण हुने तर्क गर्दै सांसद पाण्डेले विसं १८६२ मा रणबहादुर शाहले गुठी मास्न खोजेजस्तो अहिले भएको बताउनुभयो ।
लोकतन्त्रमा सच्चिनेले निरन्तरता पाउने भएकाले गुठी विधेयक पेश गरेको बिन्दुबाटै फिर्ता लिनुपर्नेमा जोड दिँदै उहाँले गोष्ठीबाट गुठी बनेकाले प्राचीनकालको लोकतान्त्रिक संस्कारका रुपमा गुठी संस्कृति आएको बताउनुभयो ।
सांसद अनिता देवकोटाले भू–माफियालाई प्रोत्साहन गर्ने गरी गुठी विधेयकका २२, २३ र ६४ नं बुँदा आएको बताउनुभयो । दाङ र प्यूठानमा स्वर्गद्वारीका नाममा गुठी जग्गा रहेको चर्चा गर्दै उहाँले विसं २०५२ देखि त्यहाँ झण्डा गाडी अतिक्रमण गरिएको जग्गालाई वैधानिकता दिन विधेयक आएको बताउनुभयो ।
सांसद उदया शर्मा पौडेलले योग्यताका आधारमा कर्मचारी सिफारिश गर्न लोकसेवा आयोगले ख्याति कमाएकाले विज्ञापन रद्द नगरी परीक्षा लिइनुपर्ने बताउनुभयो ।
सांसद रामप्रीत पासवानले मधेशी, दलित, आदिवासी, जनजाति र महिलाको अधिकार हनन् हुनेगरी लोकसेवाले आरक्षणको भावनाविपरीत विज्ञापन गरेकाले अविलम्ब सच्याउन माग गर्नुभयो ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापाले “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बाराको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन” सभा समक्ष पेश गर्नुभएको थियो ।
त्यस्तै बैठकले २०७० सालको संविधानसभा सदस्य धनिराम पौडेलको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।