गुठी विधेयकबारे मन्त्रिपरिषद्बाट निर्णय गर्ने ओलीको आश्वासन
काठमाडौँ । चौतर्फी विरोध र तीव्र दबाबपछि विदेशबाट आएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीेले गुठी विधेयकबारेको छलफल तीव्र पारेका छन् । आज विहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसँग यसबारे छलफल गरेका प्रधानमन्त्रीले संघीय संसददेखि प्रदेशका सांसदहरुसँग पनि विधेयकबारे जानकारी लिएका हुन ।
उपत्यकाका तीन जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको धारणा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषदबाटै निर्णय लिने आश्वासन दिएका छन्। छलफलमा उपत्यकाबाट निर्वाचित संघीय संसदका सांसदहरु, मेयर, उपमेयर, वडाध्यक्षहरु लगायत सहभागी थिए ।
गुठी विधेयकको विरोधमा उपत्यकाका नेवार समुदायले आन्दोलन चर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेकपाबाट निर्वाचित संघीय सांसद, प्रदेशसभाका सदस्य र वडाअध्यक्षलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
नेकपाबाट निर्वाचित तीन जिल्लाका १५ जना जनप्रतिनिधिले गुठी विधेयक फिर्ता लिनुपर्ने माग राखेका थिए ।
छलफलमा सहभागी एक सांसदले प्रधानमन्त्री ओलीले पार्टी र सरकार धर्म, संस्कृत र परम्पराप्रति प्रतिबद्ध रहेकाले विधेयकमा भएका कमी कमजोरी सच्याउने प्रतिबद्धता जनाएको जानकारी दिए।
बालुवाटारमा भएको छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए।