राणा र पञ्चले जस्तै मोजमस्ती अहिलेकाले पनि गर्दैछन् (भिडियोसहित)
काठमाडौं । ‘रवि लामिछानेको टिभी कर्मलाई म पत्रकारिता मान्दिनँ । त्यो त लतार्ने, चिथोर्ने, टोक्ने र गिजोल्ने काम हो । के टिभीमा चर्किदैमा भ्रष्टाचारको अन्त्य हुन्छ ?
भ्रष्टाचार विरुद्धको चर्का कुरा गरेर हिरो हुन खोज्नुअघि उनले आफ्नो विगत हेर्नुपर्यो । लामिछानेको पत्रकारिता र वर्तमान सरकारको समृद्धि नारा उस्तै हो ।’ नेपाली पत्रकारितामा ‘बोल्यो कि पोल्यो’ छवि बनाएका वरिष्ठ पत्रकार किशोर नेपालको निष्कर्ष छ । धुर्मुस–सुन्तलीको विकास प्रेमलाई उनी हाँस्यव्यंग्य चल्न छोडेपछिको फन्डा ठान्छन् ।
सरकारमाथि किन यति ठूलो व्यंग्य त ? उनी थप्छन्– ‘भाडामा लिएको पानीजहाज कार्यालयको भाडा तिरेको छैन् । केरुङको रेल कता हो पत्तो छैन् । घर घरमा ग्यासपाईपको योजना कता पुग्यो ? मेलम्चीको पानी खाउँला भनेर बसेका कतिको देहान्त भइसक्यो । तीन दशकदेखि एउटा आयोजना पूरा भएको छैन् । हो, पत्रकारले देखेको लेख्छ, भन्छ । मैले त्यही गरेको हो ।’
सामाजिक सञ्जाल र पत्रकारितालाई एउटै डोकोमा राखेर गरिने विश्लेषण उनलाई कति पनि चित्त बुझ्दैन् । पत्रकारिता उत्तरदायी हुन्छ । नियम कानुन लाग्छ । तर सामाजिक सञ्जाल अनियन्त्रित हुन्छ । पत्रकारिताका नाममा हुने सस्ता सामग्रीको सम्प्रेषणबाट उनी दिक्क छन् । नेपालको समकालिन पत्रकार जगतमा सबैभन्दा बढी चेलाचपाटी जन्माउने भनी गर्व गरिने यी कलमबाज निचोड निकाल्छन्– ‘नेपाली पत्रकारिता यतिबेला जाममा फसेको छ । न अघि न पछि ।’
मुलुकमा समस्या कम, समस्या बनाउनेको बिगबिगी छ । यहाँ कोही मानिस खराब छैनन् । त्यसो भए यतिका विधि कुशासनका सन्दर्भ मिथ्या हुन त ? पत्रकार नेपालको आफ्नै पृथक विश्लेषण छ– ‘राज्यको मूल चरित्रमा रुपान्तरण नचाहने प्रवृत्ति नै समस्याको मूल जरो हो । हिजो पञ्च र राणाले मोजमस्ती गरे हामी पनि गर्नुपर्छ । राणाले खाएको सलामी मैले पनि खानुपर्छ भन्ने मानसिकता नत्यागेसम्म देखिने दृश्य यिनै हुन् ।
अरु त अरु १७ हजार मान्छे मारेर आएको माओवादीमा समेत त्यही रोग देखियो ।’
किशोर नेपाल भाँचिन्छन् , दोब्रिन जाँन्दैनन् । त्यही भएर धेरैको नजरमा उनी अप्ठ्यारा र जंगी स्वभावको लाग्छ । तर मिहीन संगत गरेकाहरु उनलाई नौनीसँंग तुलना गर्न रुचाउँछन् ।
किशोर नेपाल आफू ठाडो मिजासवाला भएकोमा गर्व गर्छन् । विद्रोहको लाभाबाट जन्मिएकाले आफूमा त्यो गुण आएको हुनसक्ने स्वीकारोक्ति सहित थप्छन्– ‘हामीले पत्रकारिता गर्दा देशमा बहुदलीय व्यवस्था थिएन । काम नै आन्दोलन जस्तो थियो । कतिबेला लेख्ने कलम र पत्रिका खोसिन्थ्यो पत्तो नहुने । हो, यो अवस्था गुजारेर आएको मभित्र पनि एकप्रकारको दम्भ, आत्म स्वाभिमान छ होला ।’
६० नाघेका किशोर सधैं किशोर हुन रुचाउने पात्र हुन् । लाउन खानमा सोखिन छन् । खानपान, पोसाकमा ब्राण्डेड छन् । टीनएजदेखि इतिहासको उत्खनन्मा उत्तिक्कै सुहाउँछन् । साहित्य, कला, संगीत, राजनीति, अर्थशास्त्रदेखि राखी सावन्तको नखरासम्म उनको ज्ञानको आयतन फैलिएको छ । मोडलको नटीदेखि कटीसम्म पुगेर पत्रकारिताको कोलाजमा रंग भर्न सक्छन् ।
पत्रकारिताका विद्यार्थीका लागि किशोर नेपाल कुवाको पानी हो, जुन निकालेर कहिल्यै सकिँदैन् । यसै मेसोमा हामीले सोध्यौं– तपाईंलाई मनपर्ने नेपाली कलाकार को हुन् ? उनले बेलिविस्तार लगाए– ‘राजेश हमाल, मिथिला शर्मा, केकी अधिकारी, अनुप बराल, सरिता गिरी, प्रियंका कार्की आदि ।’ रेखा थापालाई उनी हिरोइन नभएर हिरो मान्दा रहेछन् । त्यसैले यो कोटीमा राख्न चाहेनन् । किनकी त्यो प्रकारको गतिशीलता र हरेक भूमिकामा फिट हुने चरित्र उनमा छ ।
सरकारमाथि चारैतर्फ आक्रमण छ । गणतन्त्रका विकल्पको विषयमा बहस चर्काउने पनि उत्तिक्कै छ । एउटा लामो इतिहास र तीखो कलमका साक्षी पत्रकार नेपालको निचोड छ– ‘अहिले भनिए जस्तो गणतन्त्र त्यति कमजोर छैन् । राजा ज्ञानेन्द्र फेरि राजा र कमल थापा प्रधानमन्त्री हुने नचिताए पनि हुन्छ । गद्दीबाट फालिएको राजा फेरि गद्दीको अधिकारी भएको इतिहास संसारमा विरलै छ ।’