खेल

विश्वकप क्रिकेटः आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै

विश्वकप क्रिकेटः आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै छन् । यी दुई टिमबीचको खेल काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु  हुँदैछ । जारी विश्वकपमा यी दुबै टोलीले पाँचौं खेल खेल्न लागेका हुन्। अंकतालिकामा वेस्ट इन्डिज–बंगलादेशको अवस्था समान छ । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र समान अंक जोडेको बंगलादेश आठौं स्थानमा छन् ।

 

यी दुवै टोलीले एक–एक खेल जितेका छन् भने एक÷एक खेलमा हार भोगेका छन्। दुवै टोलीको एक÷एक खेल भने वर्षाका कारण रद्द भएको छ। हालसम्म यी दुई टिमबीच खेलिएको वान डे अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिज बलियो देखिन्छ । यी दुई टोलीबीच वाने डे क्रिकेटमा हालसम्म ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ । दुई खेल भने नतिजाबिहीन सकिएको छ। 

 

यसैगरी विश्वकपमा यी दुई टोलीबीच भएको खेलमा पनि वेस्ट इन्डिज नै बलियो देखिन्छ। यसअघिका विश्वकपमा यी दुई टोलीबीच चार पटक भिडन्त भएको छ। तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने एक खेल अनिर्णित रूपमा सकिएको छ। जारी विश्वकपमा वेस्ट इन्डिजमा जसन होल्डर र बंगलादेशमा मसरुफे मुर्तुजा कप्तान छन् । 

एकदिवसीय विश्वकप क्रिकेट वेस्ट इन्डिज बंगलादेश

विशेष