खेल

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड १५० रनले विजयी

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड १५० रनले विजयी

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा इंग्ल्याण्ड १५० रनले विजयी भएको छ । मंगलबार राति म्यानचेस्टरमा ३९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । उसका लागि हशमतुल्लाह शाहिदीले ७६, रहमत शाहले ४६,  असगर अफगानले ४४, नजिबुल्लाह जर्दानले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिदले ३–३ र मार्क उडले २ विकेट हात पारे । 

 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको इंग्लिश टिमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो । जारी विश्वकपमा यो सर्बाधिक ठूलो लक्ष्य हो । इंग्ल्याण्डका लागि कप्तान इओन मोर्गनले ४ चौका र १७ छक्काको मद्दतमा ७१ बलमा १४८ रन बनाए । उनले एकै खेलमा सर्बाधिक छक्का प्रहार गर्ने रेकर्ड पनि आफ्नो नाममा बनाउन सफल भए । यसअघि यो कीर्तिमान क्रिस गेल, रोहित शर्मा र एबी डि विलियर्सको नाममा थियो । उनीहरुले समान १६ छक्का प्रहार गरेका थिए । 

 

इंग्ल्याण्डका लागि विशाल रन बनाउन जोनी बेरिस्टोले ९०, जो रुटले ८८, जेम्स विन्सले २६ र मोइन अलिले नट आउट ३१ रन बनाए । बलिङमा गुलबिन्दन नाइब र दवाल्ट जर्दानले ३–३ विकेट लिए ।     

विश्वकप क्रिकेट अफगानिस्तान भर्सेस इंग्ल्याण्ड

विशेष