सुनसरीका पत्रकारले मेयर चौधरीलाई बहिष्कार गरे, तर उनै मेयरबाट जग्गा भने लिए
काठमाडौं । पत्रकारहरुविरुद्ध अशोभनीय टिप्पणी र व्यवहार गरेको भन्दै एक हप्ताअगाडि इटहरीका मेयर द्वारिकालाल चौधरीविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरी शाखाले हप्तापछि उनै चौधरीबाट आफ्नो भवन बनाउन जग्गा दान स्वीकार गरेको छ ।
मेयर चौधरीले इटहरी उपमहानगरको तर्फबाट नेपाल पत्रकार महासंघ सुनसरीलाई जग्गा दिएका हुन् । इटहरी ५ मा रहेको प्याब्सन सुनसरीको कार्यालयको अगाडि २७ धुर जग्गा उपलब्ध गराउने निर्णय गरिएको समाचारमा उल्लेख छ । मेयरले आफूले विगतमा बोलेको कुरा पूरा गरेको प्रतिक्रिया दिएका छन् ।
पत्रकारलाई लोपार्ने, मोसो दलेर इटहरी घुमाउने र इटहरीका पत्रकार खान नपाएर दुब्लाएको जस्ता अभिव्यक्ति दिएका मेयर चौधरीको कुनै पनि कार्यक्रम बहिष्कार गर्ने सुनसरी शाखाले निर्णय गरेको थियो ।