सरकारलाई संसदीय समितिको निर्देशन क्षमता नभएका ठेकेदार कम्पनीलाई काम नदिनु
काठमाडौँ । संघीय संसदको विकास तथा प्रविधि समितिले क्षमतानै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको भन्दै त्यसो नगर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले विकास, निर्माणको कामलाई तीव्रता दिन पनि सरकारलाई सचेत गराएको समिति सभापति कल्याणी खडकाले जानकारी दिनुभयो ।
बैठकमा सत्तारुढ दलकै सांसदहरुले सरकारले विकास, निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । नेकपा सांसद गौरीशंकर चौंधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
सांसद चौधरीले गिटी, ढुंगा र बालुवा जेष्ठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुपै्र विकास, निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गर्नु भयो । असारमा पनि गिटी, ढुंगा र बालुवा झिक्न पाउने व्यवस्था सरकारले नमिलाएकै कारण असारमा गर्नुपर्ने विकास, निर्माणको कामले गति लिन नसकेको उहाँको भनाई छ ।
नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोही अनुसारको वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । असारमा गिटी, बालुवा र ढुंगा निकाल्न नपाउने कानुनी व्यवस्थाका कारण कतिपय ठूलो आयोजनाहरुको काम पनि अघि बढन नसकेको रायमाझीको भनाई थियो ।