खेल

विश्वकप क्रिकेटः अष्ट्रेलियाको लगातार तेस्रो जीत

विश्वकप क्रिकेटः अष्ट्रेलियाको लगातार तेस्रो जीत

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशलाई हराउँदै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति सम्पन्न खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै गत विजेता अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । नटिङ्घमको ट्रेन्ट ब्रिजमा भएको खेलमा ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि मुश्फिकुर रहिमले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले १ छक्का र ९ चौकाको मद्दतमा ९७ बलमा नट आउट १०२ रन बनाए । जारी विश्वकपमा रहिमको यो पहिलो शतक हो । यस्तै महुमदुल्लाहले ६९, तमिम इकबालले ६२, शाकिव अल हसनले ४१, लिटन दासले २०, सौम्य सरकारले १०, महेदी हसन मिराज र कप्तान मसुरुफे मुर्तुजाले ६–६ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनायो । 

 

उसका लागि वार्नरले शानदार प्रदर्शन गरे । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रन बनाए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । साथै, उनी यो विश्वकपमा सर्बाधिक ठूलो रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यति मात्र होइन वार्नर चालु विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् ।

 

अष्ट्रेलियालाई विशाल स्कोरमा लैजान उस्मान ख्वाजाले ७२ बलमा ८९, कप्तान आरोन फिन्चले ५१ बलमा ५३, ग्लेन म्याक्सवेलले १० बलमा ३२, स्टिभ स्मिथले १ रन बनाए । यस्तै, मार्कस स्टोइनिस १७ र एलेक्स केरी ११ रनमा अविजित रहे । बलिङमा बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए । 

विश्वकप क्रिकेट बंगलादेश भर्सेस अष्ट्रेलिया

विशेष