खेल

पुलिस क्लब क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

पुलिस क्लब क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह ’बी’ बाट सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रन बनाउन सक्यो ।  प्रदेश २ का लागि हरिशंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रन बनाए । यस्तै रबी साहले १५ रन जोड्दा सुरज पटेलले १२ रन बनाए ।

प्रदेश २ लाई सस्तैमा समेट्न दिपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडनसहित २८ रन खर्चिए ५ विकेट लिए । ललित नारायण राजवंशीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

पुलिसका लागि अमित श्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसै सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए ।  प्रदेश २ का संसद शेखले ४ तथा राशिद खानले २ विकेट लिए । यो जितसंगै पुलिस समूह बीको विजेता बनेर सेमिफाइनलमा पुगेको छ । 

समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा  ४ जितसहित ८ अंक जोड्यो । यस समूहबाट त्रिभुवन आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आर्मीले ४ खेलबाट ६ अंक जोड्यो । ४ अंक प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै यस समूहबाट प्रदेश १ र कर्णाली पनि बाहिरिएको छ ।
 

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप

विशेष