छैठों राष्ट्रिय बिच भलिबल, चन्द्र र तोरण जोडी विजयी सुरुवात
पुलिसका चन्द्र कुँवर र तोरण चन्दको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पुरुषतर्फको स्पर्धामा चन्द्र र तोरणको जोडीले एपीएफका महेन्द श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे । त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे । गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धुव्र केसी र प्रकाश कटुवालको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै विजय सुरुवात गरेका छन् ।
त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन् । महिलातर्फ नै एपीएफका विनिता बूढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खाँड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराउँदै विजयी सुरुवात गरेका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल हरेक दृष्टिकोणले अगाडि रहेको बताएका छन । हिमाल, पहाड, तराई र यहाँको मौसमले पनि खेलकुदका लागि सम्भावनाले भरिएको मात्रै नभई नेपाल अनुकूल वातावरण रहेको समेत बताउँदै भने–‘यसका लागि खेलकुदमा विशेष ध्यान दिंदै लगानी बढाउन आवश्यक छ ।’
अध्यक्ष प्रचण्डचले खेलकुदलाई विगतमा सामान्य मनोरञ्जनका रुपमा लिए पनि खेलकुद बहुआयमिक र समृद्धिका लागि आफूहरुले चाहेको जस्तो समृद्ध नेपाल र सुखी नेपालीको लागि पनि महत्वपूर्ण रहेको बताउँदै भने–‘खेलकुदको बजेट र नीति तथा कार्यक्रममा समेत सोही
अनुरुपले बजेटको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु ।’
खेलाडीले सम्मानित जीवन जिउन सक्छु भन्ने खालको सुविधा दिन र साहीे अनुरुप ग्यारेन्टी हुन सक्छ भन्ने कुरालाई अध्यक्ष प्रचण्डले विशेष रुपमा उठाएका थिए । अध्यक्ष प्रचण्डले एक फरक प्रशंगमा पोखरा आसपासमा रहेका फेवाताल लगाएत अन्य महत्वपूर्ण तालहरुको संरक्षण गर्न मुख्य सर्तको रुपमा रहेको कुरा उठाउँदै यसका लागि आफ्नो विशेष पहल रहने बताए ।
सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद राजीब पहारीले पोखराको फेवाताल लगायत अन्य सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न आफ्नो पहल जारी रहेको उल्लेख गर्दै नेपाल ट्रष्टको नाउँमा रहेको बराहीघाट खेल मैदान, हिमा गृह र रत्न मन्दिर जस्ता महत्वपूर्ण सम्पदाहरु प्रदेश र स्थनिय सरकारलाई हस्तान्तरण गरिनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका सांसद तथा विकास समिति सभापति दीपक कोइरालाले पर्यटन प्रवद्र्धनका लागि खेलकुद महत्वपूर्ण रहने बताउँदै खेलकुद आर्थिक समृद्धिको आधार रहेको बताए ।
कार्यक्रममा नेपालको भलिबल र खेल पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सांसद राजीब पहारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल पर्यटन बोर्ड पोखराका सूर्य थपलिया, पूर्ब भलिबल खेलाडी तथा व्यवसायी प्रगत कायस्थलाई अध्यक्ष प्रचण्डले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
यही असार ७ गते सम्म संचालन हुने प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको छ । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले समेत आ–आफ्नो धारणा राखेका थिए ।