अफगानिस्तानको सामु भारतीय ब्याट्सम्यान सुस्त, जम्मा २२५ रनको चुनौती
विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई २ सय २५ रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रन मात्रै बनाएको हो।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन बनाए। यस्तै केदार जादवले ५२, केएल राहुलले ३०, विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रन जोडे पनि अन्य ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
भारतलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मोहम्मद नावी र गुल्वादिन नाइबले समान दुई तथा मुजीब उर रहमान, अफ्ताब आलम, राशिद खान र रहमत शाहले एक–एक विकेट लिए।
चार खेलबाट सात अंक जोडेको भारत अंकतालिकाको चौथो स्थानमा छ भने आफूले खेलेका पाँचै खेलमा जितविहिन बनेको अफगानिस्तान अंकतालिकाको पुछारमा रहेको छ।