जस्ता गुरु उस्तै चेलाः ध्यान शिविर सञ्चालन गर्न विद्युत प्राधिकरणको गाडी सररर्र
ओशोको आवरणमा विकृतिको साम्राज्य
काठमाडौं । विवादास्पद ओशो गुरु स्वामी आनन्द अरुणले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जमिन कब्जामा लिएको विषयले एक पटक ठूलो तरंग उत्पन्न गरेको थियो । स्वामी अरुणले निकुञ्जको जमिन कब्जा मात्रै गरेनन्, निकुञ्जभित्र सरकारी ढुकुटी दूरुपयोग गर्न लगाएर विभिन्न संरचना पनि बनाए । स्वामी आनन्द अरुण जसरी स्रोत साधनको दुरुपयोग गर्छन्, जसरी विवादास्पद कार्यहरु गर्छन्, उनका चेलाहरु पनि उनी उस्तै रहेको घटना सार्वजनिक भएको छ ।
यो घटना हो, पोखराको । पोखरामा ओशो तपोवनको शाखा ओशो उपवन सञ्चालनमा छ । सो शाखा जगदीश पौडेलले सञ्चालन गर्दै आएका छन् । उनी ओशो ध्यान शिविरहरु पनि सञ्चालन गर्दै हिँड्छन् । त्यो भन्दा महत्वपूर्ण त यिनी नेपाल विद्युत प्राधिकरणका आठौं तहका इञ्जिनियर हुन् । जगदीशलाई विद्युत प्राधिकरणले कार्यालयको कामका लागि सुविधा स्वरुप बा १ ञ २४७६ नम्बरको गाडी दिएको छ । तर पौडेलले कार्यालयको यो गाडी आफ्नो ध्यान शिविर सञ्चालनका लागि प्रयोग गर्छन् ।
ओशो विचारधारा भनेको अनुशासनको विचारधारा पनि हो । ओशोले आफूलाई मनमा लागेको चाहनाहरु पूरा गर्नू भन्ने सन्देश प्रवाह गरेका थिए । तर उनले होसमा रहेर चाहना पूरा गर्नू भन्ने गर्थे । ओशोका गुरु जगदीश पौडेलले भने प्राधिकरणको गाडीलाई समेत आफ्नो चाहनामा दूरुपयोग गर्दै आएको भेटियो ।
पौडेलले पोखरादेखि विद्युत प्राधिकरणको गाडी लिएर बागलुङसम्म पुगे । त्यो पनि ध्यान शिविर सञ्चालनका लागि ।
गाडी दूरुपयोग गरेको छैन, बाटोमा चिनजानका मान्छे आकस्मिक भेटिएका हुन् –जगदीश पौडेल
गाडी दूरुपयोगको आरोप पौडेलले अस्वीकार गरेका छन् । उनले भने, ‘हैन, मैले प्राधिकरणकोे गाडी दुरुपयोग गरेको छैन । कहिले पनि दूरुपयोग गर्दिनँ ।’
फोटोमा हेर्दा त दूरुपयोग नै गरे जस्तो लाग्छ, कार्यालयको कामको फोटो त होइन होला यो ? भन्ने प्रश्नमा उनले भने, ‘म त विद्युत प्राधिकरणको कर्मचारी हुँ । कतै गइरहेको थिएँ । साथीहरु भेट हुनुभयो । उहाँहरुले मलाई स्वागत गर्नु भयो । त्यतिमात्रै हो ।’
बाटोमा आकस्मिक भेट हुँदाको फोटो हो ? भन्ने अर्को प्रश्नमा उनले भने, ‘कसले कसरी फोटो राख्नुभयो त्यो त मलाई थाहा छैन । म पनि साथीहरुसँग जाँदा खिचेको फोटो होला । यस्तो फोटो राखेर सरकारी गाडी दूरुपयोग गर्यो भन्नु अरुको मानसिकता हो । यो कुरा मैले पहिलो पटक थाहा पाएँ ।’
तपाईंलाई प्राधिकरणले कार्यालय प्रयोजनका लागि दिएको गाडी ध्यान शिविर सञ्चालन गर्न प्रयोग गर्नुभयो भन्ने छ नी ? भन्ने प्रश्नमा उनले भने, ‘म कर्मचारी हुँ । मैले अफिसकै गाडी चढ्ने हो । कहिले काहिँ बाटोमा चिनेका सार्थी भेट हुँदाको कुरा मात्रै हो । म ओशोको साधक पनि हुँ । हिजो विश्व योग दिवस मनाउन खाली टाइममा गएको बेला साथीभाई भेट्नै पर्छ । त्यो बाहेक मैले दुरुपयोग गरेका छैन ।’
र यो पनि