सांसदको काम ऐन कानून बनाउने मात्र होइन विकास गर्ने पनि हो (भिडियोसहित)
बजेटमा सांसदका लागि ६ करोड रकम छुट्याइएको विषय अहिले पनि सेलाएको छैन । कतिपयले यसलाई सकारात्मक भनेका छन् भने कतिपयले सांसदलाई निर्वाचन खर्च उठाउन प्रदान गरिएको रकम भन्दै आलोचना समेत भएको छ ।
नेपाली कांग्रेसका सांसद एवम पूर्वमन्त्री मोहम्मद् अफताव आलम ६ करोड दिने निर्णय स्वागतयोग्य ठान्छन् । उनका अनुसार रकम अझ थप्नुपर्छ । कम्तिमा पनि ८ करोडसम्म बनाउनुपर्ने उनको सुझाव छ ।
">
उनका अनुसार नेपालमा अहिले सांसदलाई कमजोर पार्ने प्रयास भइरहेको छ । कुनैपनि सांसदको जनतासँग अन्योन्याश्रित सम्बन्ध हुन्छ । सांसदले आफ्नो गाउँ ठाउँका जनतालाई पुल पुलेसो, सडक, विद्यालय, अस्पताल बनाउने वचन दिएको हुन्छ । त्यो भनेको सोझै जनताको पीर मर्कासंग जोडिएको विषय हो । सांसद निर्वाचित भैसकेपछि आफूले बोलेको कुरा पूरा गर्नुपर्ने बाध्यता हुन्छ, त्यो जिम्मेवारी पनि हो । यसकारण सांसदको छनोटमा पर्ने योजनाका लागि सरकारले रकम दिनुलाई अन्यथा बुझ्नु हुँदैन । यसलाई समर्थन गर्नुपर्छ ।
सांसदको काम ऐन कानून मात्र बनाउने हो भनेर जसरी व्याख्या गरिदैछ, त्यो गलत हो । सांसदको काम भनेको ऐन, कानूनसँगसँगै विकास पनि गर्ने हो । नेपालको सन्दर्भमा यो अवधारणा नै उपयुक्त छ । भारतमा पनि सांसद्हरुका लागि विशेष बजेट छुट्याउने गरिन्छ । सांसदले स्थानीय तहसंग समन्वय गरी विकास निर्माणका काम अघि बढाउने काम गर्छ ।
अहिले सांसदलाई ल्यापटप दिने कुराको पनि विरोध भएको सुन्छु । त्यो होइन । सांसदलाई ल्यापटप दिंदा केही बिग्रिदैन । अहिलेको समयमा साँसदलाई प्रविधिमैत्री बनाउँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न यो प्रकारको सुविधा दिइन्छ भने त्यसलाई बेठिक भन्नु हुँदैन ।
सांसद आलमले मुुलुक विकासको बाधक नै भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि सबै क्रियाशील हुनुपर्ने धारणा राखे । उनले नैतिकताबिना भ्रष्टाचार अन्त्य हुन नसक्ने भएकाले सानादेखि ठूला मान्छे सबैमा नैतिक मूल्य मान्यताको विकास गराउनुपर्ने आवश्यकता औंल्याए ।
">
पछिल्लो समय सरकारले गुठी विधेयक ल्याएर मुलुकको धर्म संस्कृतिमाथि प्रहार गरेको उनको आरोप छ । सरकारले मुलुकको मौलिकतामाथि धावा बोलेपनि नेपाली कांग्रेस र नेपाली जनताले त्यसलाई परास्त गरिदिएको उनी बताउँछन् ।
मुलुकको धर्म संस्कृति माथि नै प्रहार गर्ने वर्तमान सरकारबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको आलमको बुझाइ छ । सरकारले ल्याएको बजेट तथा नीति कार्यक्रम समृद्धि केन्द्रीत नभएको उनको आरोप छ । सरकारले एकपछि अर्को गर्दै निरंकुशतालाई मद्दत पुग्ने किसिमका विधेयक ल्याएर आफनो अधिनायकवादी चरित्र उदाङ्गो पारेको उनी बताउँछन् ।
नेपाली कांग्रेसले निर्वाचनमा हार बेहोरेपनि अहिले सुधार गरिरहेको छ । अझ दुई नम्बर प्रदेशमा त कांग्रेसको अवस्था झन बलियो बन्दै गएको छ । अब आउँदो चुनावमा हिमाल, पहाड, तराईं सबै ठाउँमा हामी अत्यधिक बहुमतले जित्नेमा कुनै शंका छैन ।