भिडियो Breaking News कभर स्टोरी

हो, हामी अरिंगाल नै हो ! 

‘मार्सी’ भन्ने गगन र ‘होलीवाइन’ भन्ने विश्वप्रकाश : महेश बस्नेत  

हो, हामी अरिंगाल नै हो ! 

सत्तारुढ दल नेकपाका सांसद् एवम पूर्व मन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका दुई होनहार युवा नेता विश्वप्रकाश शर्मा र गगन थापामाथि शब्दवाण प्रहार गरेका छन् । नेपाल आजसँगको विशेष साक्षात्कारमा बोल्दै नेता बस्नेतले कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय एउटा सम्मेलनमा भाग लिएका विषयलाई लिएर अतिरञ्जनापूर्ण ढंगले प्रचार गरेको आरोप लगाए । 

देश विदेशका मान्छे नेपालमा जम्मा भएकाबेला उनीहरुसंगको भेट राष्ट्रहीतमा लगाउन खोज्दा प्रवक्ता शर्माले ‘होलीवाइन’ खायो भनी कुप्रचार गरेको उनको आरोप छ ।  

यस्तै, पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले एकसाथ खाना खाएको विषयलाई सबैभन्दा पहिले गगन थापाले ‘मार्सी’ भनी बदनाम गर्न खोजेको उनको आरोप छ । 

उनी भन्छन्, ‘ कांग्रेसका विश्वप्रकाशले ‘होली वाइन ’ र गगनले ‘ मार्सी’ भनेर प्रचार गरे ।’

तपाईहरुलाई त अरिंगाल भन्छन् नी ? भन्ने प्रश्नमा बस्नेत भन्छन्, ‘ हो, हामी अरिंगाल नै हो । यो एउटा विम्ब हो । प्रधानमन्त्री ज्यूले यो विम्ब प्रयोग गरेर आफना कार्यकर्तालाई सरकारविरुद्ध आइलाग्नेमाथि अरिंगाल झैं जाइलाग्न निर्देशन दिनुभएको हो । हामी हाम्रो पार्टीको अरिंगाल नै हौं । विश्वप्रकाश र गगन पनि आफनो पार्टीका अरिंगाल  हुन् । एउटा अरिंगाल र अर्कोलाई अरिंगाल भन्दा के भो र ! ’

नेता बस्नेतले सामाजिक संजालमा चर्चा लिने उद्देश्यले गरिएका टिप्पणी एक दुई दिनपछि पानीको फोका जस्तै हराएर जाने भएकाले थापा र शर्माको टिप्पणीले कांग्रेसलाई नै हलुक बनाएको दावी गरे । 

उनी भन्छन्, ‘ कांग्रेसका सांसदहरु अचम्मका छन् । संसदीय समितिमा सहमति गर्छन्, संसदमा आएर विरोध गर्छन् । सूचना प्रविधि विधेयकमा गगनले पनि त्यही गरे । समितिमा सहमति गरे, संसदमा विरोध जनाए । ’

एक हप्ता भित्र मन्त्री परिवर्तन

प्रधानमन्त्री ओलीका निकटतस्थ मानिने नेता बस्नेतले एक हप्ता भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने दावी गरे । उनका अनुसार प्रधानमन्त्रीले ठूलो संख्यामा मन्त्री फेरबदल गर्ने इच्छा राखेका छन् । 

उनी भन्छन्, ‘ कम्तिमा एक तिहाई मन्त्री फेरिने छन् । यसको गृहकार्य भैरहेको छ । समृद्धि र विकासको स्पिरिटमा काम गर्न सक्ने मन्त्री चयन गरिने छ । ’
मन्त्री बन्न आफूले कुनै लबिङ नगरेको तर मौका पाए केही गरेर देखाउने हैसियत आफूमा रहेको उनले बताए । 

ओली नै पाँच वर्ष

नेता बस्नेतले प्रधानमन्त्री ओली नै पूरा पाँच वर्षका लागि प्रधानमन्त्री रहने दावी गरे । अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको जिम्मेवारी हेर्ने र प्रधानमन्त्रीले सरकार हेर्ने गरी सन्तुलन मिलाउन लागिएको उनको भनाइ छ । 

उनी भन्छन्, ‘ अहिले प्रधानमन्त्री ओलीलाई डिस्टर्व गर्नु हुँदैन । समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा सरकारले राम्रो योजना र कार्यक्रम अगाडि बढाएको छ । आर्थिक विकासका सूचांकहरु सबै सकारात्मकरुपमा देखा परेका छन् । यो बेला काम गर्न दिनुपर्छ । ’

सरकार ढाल्ने र पार्टी फुटाउने प्रयास

यो सरकार ढाल्न र पार्टी फुटाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरु सक्रिय छन् । उनीहरुले हाम्रो पार्टी भित्र पनि घुसपैठ गरेका छन् । यो सबै हामीले बुझेका छौं । 

तर, नेकपालाई फुटाउने र सरकार ढाल्ने प्रयास सफल हुने छैन । यसमा पार्टीका नेताहरु सजग र सचेत छन् । जसरी दुई अध्यक्षबीच विवाद र विभाजन ल्याउन खोजिएको छ, त्यो सफल हुनेछैन । 

हो, माधव नेपाल र बामदेव गौतमका केही ‘इस्यू’ छन् । एकदुई बसाइमा ती सल्टिन्छन् । 

बामदेवको सांसद बन्ने सपना

नेता बस्नेतले बामदेव गौतमलाई उनको इच्छा अनुसार नै पुनर्निर्माण वा विकास प्राधिकरण जस्तो केही संयन्त्र बनाएर जिम्मेवारी दिने तयारी भैरहेको जानकारी आफूले पाएको बताए । उनी सांसद बन्ने सपना भने पूरा हुँदैन । त्यो सम्भव छैन । 

यस्तै, माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने कुरा उठाउनु भएको छ, त्यो पनि केही दिनभित्रै सल्टिन्छ । 

नाम जे भएपनि सिद्धान्त ‘ जबज

जनताको बहुदलिय जनवाद होस वा २१औं शताब्दीको जनवाद वा जनताको जनवाद जे भनेपनि यो सबै जबज नै हो । चाहे पार्टी एकीकरणकाबेला भएको सहमति होस वा हाम्रो नेताहरुले भाषणमा अभिव्यक्त गरेका कुरा हुन्, शब्दमा जे लेखेपनि त्यसको सारतत्व भनेको जबज नै हो । 

यसकारण यसमा विवाद गर्नुपर्ने कुनै आवश्यकता छैन । 

विशेष