विश्वकपः सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना कायमै, दक्षिण अफ्रिका ४९ रनले पराजित
काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३० औं खेलमा दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान विजयी भएको छ । आइतबार राति लड्स क्रिकेट मैदानमा दक्षिण अफ्रिकालाई ४९ रनले हराउँदै पाकिस्तान विजयी भएको हो । ३०९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको द. अफ्रिकाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान फाफ डुप्लेसिसले ६३, क्विन्टन डि ककले ४७, एन्डिले फेहलक्वायोले नट आउट ४६, रस्सी भान डर ड्युसनले ३६, डेभिड मिलरले ३१, क्रिस मोरिसले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रहन बनाउन सकेनन् । बलिङमा पाकिस्तानका सादव खान, वहाव रियाजले ३–३, मोहम्मद आमिरले २ र शाहीन शाह अफ्रिदिले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनायो ।
उसका लागि हरिस सोहेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ९ चौका र ३ छक्काको मद्दतमा ५९ बलमा ८९ रन बनाए । यस्तै बाबर आजमले ६९, फखर जमान, इमाम उल हकले ४४–४४, मोहम्मद अफीजले २०, इमाद वासिमले २३, वहाब रियाजले ४ रन बनाए । यस्तै कप्तान सरफराज अहमद २ र शादाब खान १ रनमा अविजित रहे ।बलिङमा दक्षिण अफ्रिकाका लुंगि एन्गिडीले ३, इमरान ताहिरले २, एन्डिले फेहलक्वायो, लुंगि एन्गिडी र एडन मार्कले एक–एक विकेट लिए ।
पाकिस्तानको प्लेइङ ११ः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, शादाब खान, मोहम्मद हफीज, शाहीन शाह अफ्रिदि, वहाब रियाज, मोहम्मद आमिर र इमाद वसीम ।
दक्षिण अफ्रीकाको प्लेइङ ११ः फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), एडेन मार्कम, हाशिम अमला, डेविड मिलर, कागिसो रबाडा, एन्डिले फेकलक्वायो, इमरान ताहिर, लुंगी एन्गिडी, क्रिस मोरिस र रस्सी भान डर ड्युसन ।
विश्वकप क्रिकेट पाकिस्तान भर्सेस दक्षिण अफ्रिका